राँझा – नेपालका विभिन्न जिल्लाबाट घर फर्किदै गरेका ६७ भारतीय नागरिकलाई नेपाली सेनाले बनाएको एकान्तबासमा राखिएको छ ।


ADVERTISEMENT


कोहलपुर नगरपालिका– ८ हवल्दारपुरस्थित राम माविमा स्थापना गरिएको अस्थायी एकान्तबासमा उनीहरुलाई राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार, बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैठकले उनीहरुका लागि आवश्यक एकान्तबास निर्माण गर्न टेन्टका लागि नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी बाँके तथा अन्य आवश्यकपर्ने वित्तीय व्यवस्थापनका लागि प्रदेश सरकारलाई अनुरोध गरिएको थियो ।

बाँकेको कुसुमस्थित राजमार्गमा रोकिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उद्धार गरेर अस्थायी एकान्तबासमा ल्याएको हो । कोभिड– १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीपछि अलपत्र परेका उनीहरु चितवनबाट पैदल हिँडेरै नेपालगञ्ज आउँदै गरेका बुझिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

उद्धार गरिएकामध्ये एक जना १५ दिने सुत्केरी र ३७ जना १८ वर्ष मुनिका बालबालिका रहेका छन् । नेपालभित्रै यात्रा गरिरहेका उनीहरुबाट कोरोना सङ्क्रमणको खतरा न्यून भए पनि तत्कालका लागि एकान्तबासमा राखिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण यातायात सेवा र सीमा नाकासमेत ठप्प भएपछि नेपालबाट भारत जाने र भारतबाट नेपाल फर्किने कामदार अलपत्र पर्न पुगेका छन् ।

बहराइचमा १८ नेपाली एकान्तबासमा

भारतबाट घर फर्किदै गरेका १८ नेपालीलाई भारतको सीमावर्ती बहराइचमा रोकेर एकान्तबासमा राखिएको छ । बहराइच जिल्लाको नानपारास्थित गुरगुट्टामा स्थापना गरिएको एकान्तबासमा प्रशासनको निगरानीमा रुपैडिहास्थित पत्रकार सन्तोष शुक्लाले जानकारी दिए ।

उक्त एकान्तबासमा १६८ भारतीय र १८ नेपाली गरी १८६ जनालाई प्रशासनको निगरानीमा सुरक्षित राखिएको छ । उनीहरुको उचित खानपानका साथै स्वास्थ्य परीक्षण भइरहेको पत्रकार शुक्लाले जानकारी दिए। केही दिनअघि मात्र सीमा नाकाको अवलोकन गरेका बहराइचका जिल्ला अधिकारी शम्भु कुमारले स्वास्थ्य परीक्षणका साथै सबैलाई समान व्यवहार गर्न आग्रह गरेपछि कुनै विभेद नरहेको शुक्लाले बताए ।

क्वारेन्टाइनमा बसेकाहरु खुशी

धम्बोजी : बाँकेको सीमा नाका दशगजा क्षेत्रमा स्थापना गरिएका क्वारेन्टाइनमा राखिएका नेपालीको स्वास्थ्य, खानपानलगायतको सुविधामा पर्याप्त ध्यान दिइएको छ ।

उक्त क्वारेन्टाइनमा रहेकाको स्वास्थ्य जाँच स्वास्थ्यकर्मीबाट बेलाबेलामा हुने गरेको छ भने उनीहरुको खानपानका लागि बाँकेका विभिन्न सङ्घसंस्थाबाट सहयोग जुटेको छ । भारतबाट घर फर्कने क्रममा चिन्तित बनेका बर्दिया राजापुर नगरपालिका–१ का दीपक खड्कासहितको टोली क्वारेन्टाइनमा बस्न पाएपछि खुशी देखिएको छ ।

भारतको गुजराजबाट कतै गाडी त कतै पैदल यात्राबाट नेपाल आइपुगेका उनले भने, “यसरी बाँचेर फर्किएला भन्ने सोचिएकै थिइन धन्न बाँचेर नेपाल फर्कन पाइयो ।” दीपकसँगै आएका नेपाली ४५ टेन्टमा १८१ जना रहेका छन् । क्वारेन्टाइनमा बाँके, बर्दिया सुर्खेत, दैलेख, दाङ, जुम्ला, सप्तरी र झापाका गरी १८१ जनाले आश्रय लिएका छन् ।

क्वारेन्टाइनमा बसेका नेपालीको व्यवस्थापनमा र सुरक्षामा खटिएका नेपाली सेना भैरवप्रसाद गणका सहसेनानी विक्रम चौधरीले क्वारेन्टाइनमा राखिएकाको १४ दिनसम्म निगरानी र आवश्यकताअनुसार स्वास्थ्य जाँच गरिने बताए । रासस