रमेश गिरी, भक्तपुर – कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेको छ । आमनागरिक घरभित्र बसेका छन् । सधै व्यस्त र भीडभाड रहने सडकमा सीमित सवारीसाधन मात्र चलेका छन् ।


ADVERTISEMENT


विविध कारणले सडकमा आएका मानव यतिखेर विचल्लीमा परेका छन् । खुल्ला आकाशमुनि अलपत्र छन् । हरेकदिन राति करिब ७ बजेदेखि रातो पिपिई लगाएका चारजना अरनिको राजमार्गमा पर्ने नलिन्चोकदेखि जडिबुटीसम्मको सडक, कौशल्टारको आकाशे पुल, मध्यपुरथिमि सिद्धिकाली, सानोथिमिलगायत नगरका भित्री बस्ती, भक्तपुरको सल्लाघारी, दत्तात्रय, पाँचतले मन्दिर, कमलविनायकलगायत नगरका भित्री क्षेत्रमा अलपत्र भोकै रहेका सडक मानवको हातहातमा खाना पुर्याउन व्यस्त हुन्छन् ।


ADVERTISEMENT

# # #


चाँगुनारायण नगरपालिका–३ गेलालगाउँमा बेवारिसे सडक मानवको आश्रय बन्दै आएको मानव कल्याण समाज (सेवा घर) कि अध्यक्ष सुमित्रा चौलागाईं नेतृत्वको चारजनाको टोली यसैगरी हरेक साँझ हातमा खानाको पोको बोकेर पुग्छन् सडक मानवसम्म । आमाले कतिखेर खाना ल्याउलिन भन्दै सन्तानले कुरेजस्तै कतिखेर आइपुग्छ खाना लिएर सुमित्राको टोली भनेर साँझ परेपछि बाटो हेरेर बस्छन् –सहाराविहीन सडक मानव ।

भारी बोक्ने काम गर्दै आएका सिन्धुपाल्चोकका दिलबहादुर भुजेल पाटीमा बस्दै आएका छन् । लकडाउन अघिसम्म भारी बोकेर जसोतसो ज्यान पाल्दै आएका उनी लकडाउन पनि झण्डै एकहप्ता भोकै परे । तर विगत ११ दिनदेखि उनको बाँच्ने आधार बनेकी छिन्, उनै मानव कल्याण समाजका अध्यक्ष चौलागाईं । भुजेल भन्छन्, “काम पाइन, बस्ने कोठा छैन, ५–६ दिन भोकै बसेँ, अचेल त साँझ तातो खाना खान पाइन्छ, सुमित्रा बहिनी आउँदा आमाले खाना ल्याए जस्तै लाग्छ, कहिले साँझ पर्ला र उनी खाना लिएर आउलिन् जस्तो हुन्छ ।”

लकडाउन अघि भरिया काम गरेर बाँच्ने, फोहर प्लास्टिक टिप्ने, जोगी र माग्दै जीवन टाल्ने सडक मानव लकडाउनमा खुल्ला आकाशमुनि भोकै देखेपछि एकछाक तातो खाना खुवाउने अभियानमा जुट्यो मानव कल्याण समाज । मध्यपुरथिमिको भित्री बस्तीको पाटीमा बस्दै आएका ६८ वर्षीय बुद्धिकुमार खड्का शाही बिरामी छन् । दम र खोकीको बिरामी उनी भन्छन्, “बूढो भएँ, साहारा कोही छैन, खान पाइनँ, अहिले यी छोरीले ल्याइदिन्छिन्, बाँचिन्छ कि जस्तो लाग्न थालेको छ ।”

उनको मात्रै हैन भारी बोकेर सडकमा जीवन गुजारा गर्दै आएका पर्वतकी सुमित्रा गिरी, भीम राई, ज्यामी काम गर्ने धरानका सुमन राई, सिन्धुलीका चन्द्रबहादुर राईलगायत ६ वर्षदेखि ६८ वर्षसम्ममा ५० जनाभन्दा बढीको अवस्था अहिले उस्तै छ ।

भारी बोकेर जीवन गुजार्ने राई पाइन्टको गोजीको नाम्लो देखाउँदै भन्छन्, “काम छैन हजुर, घर जान पनि पाइएन, यता खान पनि पाइएन, सरकारले दिने राहत हामीले पाएनौँ, पाए पनि पकाउने ठाउँ छैन, अहिले राति खाना खुवाउन भाइ बहिनी आउँछन्, खुशी लागेको छ ।” चन्द्रबहादुर झ्याप्लेको छोरा ड्राइभर छ, अहिले कहाँ छ थाहा छैन, श्रीमती अर्कैसँग पोइल गई, अहिले एक्लै पाटीको बास छ उनको ।

लकडाउनले सडक मानवको दयनीय अवस्था देखेपछि सडकमा रहेको मानिसको खोजी गर्दै अहिले ५० जनालाई राति खाना खुवाउने गरेको मानव कल्याण समाज भक्तपुरकी अध्यक्ष चौलागाईं बताउँछन्। “हाम्रो सेवाघरमा अहिले पनि नौ बालबालिकादेखि ६३ जना सडक मानवलाई आश्रय दिइरहेका छौँ, लकडाउनमा सडकमा बस्नेहरु भोकै भएको थाहा पायौँ, त्यसैले बेलुका एकछाक तातो खाना खुवाउने अभियान शुरु गर्‍यौँ, अब लकडाउनभरि बेलुका खाना खुवाउँछौँ ।”

अनुगमनमा जिल्लाभित्र ५० जना यस्ता मान्छे भेटिएपछि झौखेलस्थित सेवा घरमै पाँचजना स्वयंसेवकको टोली खाना, तरकारी, अचार प्याक गरी दाल थर्मसमा राखेर, पानीसहित लिई रातपरेपछि खाना खुवाउन सडकमा जानु अचेल उनीहरुको दैनिकी बनेको छ ।

यसका लागि सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले स्थापना गरेको मानवीय आस्था नेपालले खाद्यान्न उपलब्ध गराएको छ भने गोपी न्यौपाने संयोजक रहेको नागरिक हेल्थ ट्रष्टले उनीहरुका लागि पाँच सेट पिपिई, मास्क, पञ्जा, स्यानिटाइजर उपलब्ध गराएको छ । सडकमा मानिस भोकै भएको थाहा पाएर सडक मानवको उद्धार गर्दै आएको मानव कल्याण समाजलाई रासन उपलब्ध गराएर खाना खुवाउने व्यवस्था मिलाएको सांसद बस्नेत बताउँछन् ।

वेभ ग्रुपका अध्यक्ष एवं हनुमन्ते सफाइ अभियान्ता नरेश रञ्जित आ–आफ्ना वडामा रहेका बेसहारा मानवलाई वडामार्फत खाना खुवाउने व्यवस्था नगरपालिकाले गर्नुपर्नेमा त्यसो हुन नसक्दा यो विडम्बना आएको बताउँछन् । सडक मानव मुक्त गर्ने सरकारको घोषणालाई साकार पार्न उनीहरुको उद्धार गर्छौं भनेर सरकारसँग बर्सेनि करोडौँ लिने संस्थाले यिनै सडक मानवलाई अहिले नदेखेको गुनासो गर्छन् स्थानीयवासी ।

स्थापनाको करिब डेढवर्षको अवधिमा समाजले २०० बेसाहारा सडक मानवको उद्धार, ७५ लाई परिवारसँग पुनर्मिलन गराएको बताउँदै समाजकी अध्यक्ष चौलागाईंले सेवा घरमै १८ को मृत्यु भएपछि प्रहरीसँगको सहयोगमा दाहसंस्कारसमेत गराएको बताउँछन् । कोरोनाको जोखिमका कारण तत्काल सडक मानवको उद्धार गर्न समस्या भए पनि लकडाउन खुलेपछि उनीहरुको उद्धार गर्ने समाजले तयारी गरेको छ ।

भक्तपुर अस्पतालका क्विक रेस्पोन्स टिमका अरुण सैँजुको अनुरोधमा आजबाट भक्तपुर अस्पताल, क्यान्सर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्रमा भर्ना भएका बिरामी, कुरुवा र आइसोलेशनमा उपचारमा रहेका करिब ५० जनालाई निःशुल्क खाना खुवाउन शुरु गरेको समाजकी अध्यक्ष चौलागाईं जानकारी दिए ।

सरकारको सहयोग नरहे पनि स्थानीय विभिन्न दाताले दिने खाद्यान्नलगायतको सहयोग, जन्मोत्सव, विवाह महोत्सव र पितृको तिथिलगायतमा दिने दानले संस्था चल्दै आएको छ । हाल नौजना बालबालिकासहित ६३ जना रहेको समाजले ओमकृष्ण सेवा सदनले उपलब्ध गराएको भवन र अर्को २५ हजार मासिक भाडा तिरेर लिएको घर सहाराविहीनको आश्रय बन्दै आएको छ । रासस