नारायण ढुङ्गाना, काठमाडौँ – सरकारले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन नमूना सङ्कलन र परीक्षणको दायरालाई फराकिलो पारेको छ । रोगको जोखिम बढ्न सक्नेतर्फ ध्यान दिँदै दक्षिणी नाका आवागमनमा कडाई गरेको सरकारले परीक्षणको गति पनि उसैगरी बढाउँदै लगेको हो । र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी)मार्फत पनि मुलुकका धैरजसो जिल्लामा परीक्षण थालिएको स्वास्थ्य मन्त्रायले जनाएको छ ।


ADVERTISEMENT


शुरुमा काठमाडौँमा मात्रै सीमित रहेको परीक्षणलाई देशव्यापी बनाउने उद्देश्यअनुसार यन्त्र उपकरण थपेर आवश्यक काम भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । यसअघि जनस्वास्थ्य प्रयोगशालामा हुँदै आएको कोभिड–१९ सङ्क्रमणको परीक्षण आजदेखि वीर अस्पतालमा पनि शुरु भएको छ । भोलि आइतबारदेखि टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्तपालमा समेत थालिने डा देवकोटाले बताए ।


ADVERTISEMENT

# # #


नागरिकले धेरैभन्दा धेरै परीक्षण गरेर रोग नियन्त्रणमा लाग्न सरकरालाई अनुरोध गर्दै आएका छन् । नागरिकको चासोप्रति गम्भीर हुँदै सरकारले रोग नियन्त्रणका प्रभावकारी उपाए अपनाउँदै आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त विवरणअनुसार हालसम्म चार हजार ४२६ जनाको नमूना परीक्षण भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै ८९७ जनाको नमूना परीक्षण गरिएको छ । यो गएको हप्ताको परीक्षणभन्दा निक्कै धेरै हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म तीन हजार ३९२ को परीक्षण भएकामा पछिल्लो २४ घण्टामा मात्रै ६०९ जनाको परीक्षण भएको छ । उपत्यका बाहिर ७४२ वटा परीक्षण भएको छ । त्यसमध्ये पछिल्लो २४ घण्टामा २८८ वटा नमूनाको परीक्षण भएको डा देवकोटाले बताए । नमूना परीक्षण प्रतिदिन झण्डै ८०० भएको छ । नमूना सङ्कलनसमेत बढेकाले परीक्षणको दायरा पनि बढाइएको हो ।

“तीन दिनदेखि र्‍यापिड डाइग्नोष्टिक किट (आरडिटी) मार्फत पनि परीक्षण शुरु गरेका छौँ, यो समुदायमा सङ्क्रमण छ छैन भनेर हेर्नका लागि हो, रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति छ छैन भनेर उक्त किटले हेर्न सक्छ, धेरै जिल्लामा पुगिसकेको छ, केहीमा शुरु हुँदैछ”, डा देवकाटाले भने । सुदूरपश्चिमका सबै जिल्लामा परीक्षण थालिएकोसमेत उनले बताए।

वीरमा परीक्षण शुरु, आइतबारदेखि टेकु अस्पतालमा

काठमाडौँमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको परीक्षण हुँदै आएकामा आजदेखि वीर अस्पतालबाट समेत परीक्षण थालिएको छ । आइतबारदेखि टेकु अस्पतालबाट समेत नमूना परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । वीरमा शुरु भएसँगै आजदेखि उपत्यकामा दुई ठाउँबाट परीक्षण थालिएको छ । दार्चुलामा पनि स्वाबको नमूना परीक्षण भइरहेको छ । क्वारेन्टाइनमा बसेका व्यक्ति सबैको र्‍यापिड डाइग्नोष्टिक किटबाट नमूना परीक्षण गर्न थालिएको र अब केही दिनमा सबै क्षेत्रको परीक्षण सक्ने योजना मन्त्रालयको छ ।

टेष्ट बढाउनका लागि भनेर धेरै प्रश्न आएको उल्लेख गर्दै डा देवकोटाले काठमाडौँ उपत्यका बाहिर धेरै ठाउँमा शुरुआत भइसकेको र केही ठाउँमा यन्त्र जडान कार्य जारी रहेकाले छिट्टै शुरु हुने आश्वासन दिइ । ७७ जिल्लाबाट परीक्षण गराउने प्रक्रियामा सरकार रहेको छ । पिसिआरबाट हुने नमूना परीक्षणको दायरासमेत बढिरहेको डा देवकोटाले बताए ।

आठ हजार ८२ जना क्वारेन्टाइनमा

आजसम्मको प्राप्त विवरणअनुसार मुलुकभर आठ हजार ८२ जना क्वारेन्टाइनमा छन् । नेपालको स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले सञ्चालन गरेको क्वारेन्टाइनमा उनीहरु बसिरहेका हुन् । आइसोलेसनमा ८२ जना छन् । काठमाडौँ उपत्यकामा १५ र बाहिर ६७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको निःशुल्क कल सेन्टर ११३३ र १११५ मा गत २४ घण्टामा तीन हजार ४० जनाले जिज्ञासा रोखेकामा उनीहरुको जिज्ञासा सम्बोधन गरिएको छ ।

पछिल्लो २४ घण्टामा रेड जोनमा पाँच जना रहेका छन् । अहिलेसम्म १८९ जना रेड जोन लिष्टमा छन् । उनीहरुलाई स्वास्थ्यमन्त्रालयले महाशाखामार्फत टे«सिङ गर्ने काम गरिरहेको छ । कोभिड–१९ का बारेमा मन्त्रालयको वेब पेज, ‘हाम्रो स्वास्थ्य’ एप्स र कल सेन्टरबाट आवश्यक जानकारी दिने गरिएको र दैनिक ४ः१५ बजे विवरण लाइभ सार्वजनिक गर्ने गरिएको छ ।

क्वारेन्टाइनमा बस्नेसँग कल सेन्टर, वेब पेज वा ‘हाम्रो स्वास्थ्य’ एप्स बाट सिधा सम्पर्क भइरहेको र कोही छुटेको भए जोडिनसमेत मन्त्रालयले अनुरोध गरेको छ । प्रवक्ता डा देवकाटाले भने, “यसको प्रयोग गरिदिन सबैमा आग्रह गर्दछु, प्रविधिको प्रयोग गर्दा आफ्नो स्वास्थ्यका बारेमा जानकारी पाउन सकिन्छ, दोहोरो संवाद गरेर जिज्ञासा मेटाउन सहज हुन्छ र आएका सुझावअनुसार हामीलाई रणनीति बनाउनसमेत सहयोग पुग्छ ।”

नयाँ सङ्क्रमित छैनन्

मन्त्रालयले आजसम्म नौ जना मात्रै कोभिड–१९ बाट सङ्क्रमण रहेको र विगत केही दिनदेखि नथपिएको प्रष्ट पारेको छ । नौमध्ये आठ जना उपचाररत छन् । चार जना सेती प्रादेशिक अस्पतालमा, दुई जना टेकु अस्पताल र दुई जनाको बाग्लुङग अस्पतालमा उपचार जारी छ ।

नेपालमा माघ ९ गते पहिलो पटक चीनको उहानबाट आएका नेपालीमा कोरोना देखिएको थियो । उनी उपचारपछि निको भएका छन् भने अन्यको उपचार चलिरहेको छ । पछिल्ला समयमा भारतबाट आउनेहरुबाट जोखिम बढ्दो रहेकाले सरकारले नाकामा कडाइ गरेको छ ।

चीनको उहानमा गत डिसेम्बर ३१ मा पहिलो पटक देखिएको कोभिड–१९ विश्वकै लागि नयाँ रोग हो । अहिलेसम्म विश्वमा झण्डै १६ लाख सङ्क्रमित भएकामा एक लाख बढीको मृत्यु भइसकेको छ । दुई सयभन्दा बढी देशमा रोग देखिएको छ । धेरैजसो देशले सङ्क्रमण रोकथामका लागि लकडाउन निर्विकल्परुपमा अपनाएका छन् । नेपालले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । रासस