– डा. रुना झा (निर्देशक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला)


ADVERTISEMENT


सर्वप्रथम यहाँहरुलाई नव वर्ष २०७७ सालको शुभकामना । आज म तपाईंहरुसमक्ष विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रयोगशाला परीक्षण सम्बन्धी केही साधारण जानकारी लिएर आएकी छु ।


ADVERTISEMENT

# # #


कोभिड–१९ भएको, नभएको परीक्षण गर्ने विश्व मापदण्ड अनुसारको विधि भनेको ‘पोलिमरेज चेन रियाक्सन’ (पीसीआर) परीक्षण हो । यसमा हामीले अहिले प्रयोग गर्ने भनेको ‘रियल टाइम पोलिमरेज चेन रियाक्सन’ हो । यस विधिमा जुन नमूना हामी संकलन गर्छौं, ती नमूनाहरुमा जेनेटिक मटेरियल ‘जिन’ को टुक्राहरु छन् कि छैनन् भन्ने थाहा पाउन परीक्षण गरिन्छ । यदि ती नमूनाहरुमा जिनको टुक्राहरु छन् भने त्यहाँ भाइरस पनि बसेको छ भन्ने प्रमाणित हुन्छ । परीक्षणलाई त्यसरी लिइन्छ । यसबाट के थाहा हुन्छ भने नमूना लिएको बखत सम्बन्धित व्यक्तिको शरीरमा भारस छ कि छैन ? यदि भाइरस छ भने त्यसको मतलब संक्रमण छ भन्ने बुझ्नु पर्छ ।

भाइरसको समयावधि

एक जना संक्रमित भइसकेपछि त्यो भाइरस शरीरमा कति दिनसम्म रहन्छ भन्ने कुरा व्यक्तिपिच्छे फरक हुनसक्छ । रोग प्रतिरोधात्मक क्षमता अनुसार कसैमा छिट्टै पनि भाइरस हट्न सक्छ भने कसैमा ३-४ हप्तासम्म भाइरसका टुक्रा रहने हुनसक्छ । तर, पीसीआर परीक्षण भनेको अत्यन्तै जटिल, समय लाग्ने र प्रयोगशालाको ‘सेटअप’ पनि यसको लागि विशेष किसिमको हुनुपर्छ । साथै परीक्षण गर्ने व्यक्तिमा पनि विशेष तालिम पाएको योग्यता हुनुपर्छ ।

कोभिड–१९ रोग नयाँ हो । त्यसकारण यो आएदेखि वैज्ञानिकहरुले यसको कुनै अर्को विधिबाट परीक्षण गर्न सकिन्छ कि भनेर लगातार अध्ययन अनुसन्धान गरिराखेका छन् । त्यही अध्ययनको आधारमा हाल आएर शरीरमा भाइरसविरुद्ध लड्नका लागि बनाउने जुन ‘एन्टी वडी’ छ, त्यो परीक्षण गरेर पनि यो रोग पत्ता लगाउन सकिन्छ, नयाँ विधिको विकास भइरहेको छ ।

यस्तै तीन हप्ता, चारहप्ता बितिसकेपछि (जब भाइरस जिउबाट हराइसकेको हुन्छ) पीसीआर नेगेटिभ आउने तर एन्टी वडीको परीक्षण पोजेटिभ देखाउन सक्छ । त्यसकारण अहिले जति पनि प्रश्न छन्, पीसीआरबाट पोजेटिभ आयो, र्‍यापिड किटबाट एन्टी वडी देखिएन वा एन्टी वडी पोजेटिभ आयो, पीसीआर देखिएन । यी सबै माथिका कारणले हुन सक्छ ।

एन्टी वडी परीक्षण गर्ने विभिन्न विधिहरु विकास भइरहेका छन् । तर, यो आफैमा कुनै नयाँ प्रविधि भने होइन । हामीले अरु पनि भाइरसका रोगहरु जस्तो कि डेङ्गु, हेपाटाइटस, एचआइभी सबैको डाइग्नोसिसन एन्टीवडी परीक्षणमार्फत नै गरिरहेका छौँ ।

के हो आईजीएम र आइजीजी ?

कोभिड-१९ को संक्रमण भएको व्यक्तिले दुई किसिमको एन्टी वडीहरु बनाउँछ । सुरुमा बन्ने भनेको  इम्यूनोग्लोबिन-एम (आईजीएम) र त्यसपछि बन्ने भनेको इम्यूनोग्लोबिन-जी (आईजीजी) हो । रोग लागिसकेपछि तीनदेखि पाँच दिन (यो पनि व्यक्तिपिच्छे फरक हुन सक्छ) अर्थात् सामान्यता एक हप्तामा शरीरमा आईजीएम देखिन थाल्छ । यो झण्डै दुई तीन हप्ता शरीरमा रहन सक्छ । रोग लागेको दुई हप्तापछि आइजीजी भन्ने एन्टी वडी बन्न थाल्छ । यो शरीरमा महिनौसम्म रहन सक्छ ।

यही अनुभव हामीले अन्य रोगहरुबाट हासिल गरेका छौँ । यस अर्थमा सुरुको अवस्थामा भाइरस भेटिने भयो । त्यसको ५-७ दिन बितिसकेपछि आइजी-एम भन्ने एन्टी वडी भेटिने भयो । दुई हप्ता बितिसकेपछि आइजी-जी भन्ने भेटिन सक्छ । यस्तै एकमहिना पछि भाइरस र आइजीएम नेगेटिभ हुनसक्छ भने आईजी-जी महिनौँसम्म रहन सक्छ । भन्नुको अर्थ हामीले परीक्षण गर्दा सुरुका दिनमा पीसीआर मात्रै पोजेटिभ आउन सक्छ । एन्टी वडीको लागि गरिने परीक्षणहरु नेगेटिभ हुन्छ भने हप्ता दश दिनपछि पीसीआर प्रविधिबाट पनि पोजेटिभ आउने र एन्टीवडी पनि पोजेटिभ आउने हुन सक्छ ।

एन्टी वडी विधिहरु परीक्षण गर्ने विभिन्न विधिमेध्ये एउटा भनेको एलाइजा हो । जुन धेरैजसो प्रयोगशालामा प्रयोग हुने गर्छ । एलाइजा पनि हाम्रो प्रयोगशालाहरुमा उपलब्ध छन् । यसको लागि पनि ल्याबभित्रै बसेर परीक्षण गर्नुपर्छ । एलाइजा गर्न मेसिन र दक्ष जनशक्ति चाहिन्छ । यो एउटा, दुईटा परीक्षण गर्दा गाह्रो हुन्छ । त्यसकारण एलाइजा गर्न चारदेखि ६ घण्टासम्म पनि लाग्ने हुनाले ब्याचमा गर्नुपर्ने हुन्छ । केही कम्पनीहरुले कोभिड–१९ को परीक्षणका लागि एलाइजा विकास गरिसकेका छन् ।

के हो र्‍यापिड डाइग्नोस्टिक किट (आरडीटी) अर्थात् र्‍यापिड टेष्ट ?

एन्टीवडी परीक्षणको अर्को विधि भनेको र्‍यापिड किट हो । जुन अहिले हामीले पनि प्रयोग गरिरहेका छौँ । नेपालसँगै अन्य देशहरु अमेरिका, युरोपका केही देशहरु र अष्ट्रेलियाले पनि आरडीटीबाट परीक्षण सुरु गरिसकेका छन् ।

भारतले पनि हालै जारी गरेको आफ्नो टेष्ट मापदण्डमा लक्षण भएका व्यक्तिहरुलाई पनि र्‍यापिड किटबाट परीक्षण गर्ने कुरा समावेश गरिसकेको छ । र्‍यापिड किटको फाइदा भनेको यसका लागि विज्ञता नचाहिने, थोरै तालिम दिए प्रयाप्त हुने, प्रयोगशाला पनि नचाहिने, फिल्डमा गएर गर्न सकिने र १५ मिनेटमै यसको नतिजा आउने हुन्छ ।

प्रयोगशाला परीक्षण वा अन्य परीक्षण आफैमा पूर्ण हुँदैन । बिरामीको त्यतीबेलाको अवस्था अन्य परीक्षणहरुसँग मिलाएर रिपोर्टको नतिजा विश्लेषण गर्नुपर्ने हुन्छ । धेरै देशहरुले पीसीआरमा आ–आफ्ना मापदण्डहरु तोकेका छन् । नेपालको पनि आफ्नै मापदण्ड छ । भन्नुको मतलब आफ्नो शतप्रतिशत जनसंख्यालाई परीक्षण गर्ने देशले पनि सबैमा पीसीआर गर्नुपर्छ भनेर राखेका छैनन् । एउटा मापदण्ड बनाएर पीसीआर गर्नुपर्नेलाई पीसीआर गर्ने र जो व्यक्तिहरु पीसीआरको दायराभित्र आउनुहुन्न, उहाँहरुको लागि कुनै वैकल्पिक टेष्टको व्यवस्था गर्न सकिए धेरैभन्दा धेरै व्यक्तिको परीक्षण गर्न सकिन्छ । पीसीआरमा मात्रै  भर पर्दा छुट्न सक्नेलाई वैकल्पिक विधिबाट हामीले केहीलाई मात्रै समात्न सक्यौं भने पक्कै पनि रोगलाई नियन्त्रणमा ल्याउनका लागि हाम्रा लागि फाइदा हुनसक्छ ।

यसका साथै एन्टी वडी परीक्षणको अर्को एउटा फाइदा के छ भने रोग निको भइसकेपछि पीसीआर परीक्षण नेगेटिभ आउँछ, जसलाई पहिले रोग लागिसकेको छ र त्यतीबेला पीसीआर हुन सकेन वा लक्षण देखिएन भने त्यस्ताहरुलाई पछि गर्ने परीक्षण भनेको एन्टी वडी मात्रै रहन्छ । त्यो परीक्षण गरेर हाम्रो समुदायमा कति व्यक्ति कुनै स्टेजमा संक्रमित भएका थिए भन्ने कुरा बुझ्न पनि एन्टी वडीले सहयोग गर्दछ । पीसीआर भन्दा माथिका पनि केही परीक्षणहरु छन् । पीसीआरमा हामीले साधरणतया भाइरसका लागि दुईटा वा तीनवटा जिन देख्ने कोसिस गर्छौँ भने यो भन्दा माथि ‘जिन सिक्वेन्सी’ पनि छ । जसले पूराका पूरा जिनको परीक्षण गर्छ । अर्का भनेको एउटा विधि भनेको ‘भाइरस कल्चर’ हो । जसले प्रयोगशालामा दिएको नमूनाबाट सिधै भाइरस निकाल्ने भन्ने परीक्षण हो । यद्दपी कोभिड–१९ को डाइग्नोसिसको लागि सिफारिस गरिएको विधि होइन ।

यस्तै परीक्षण प्रयोगशालाको साथै बिरामीको इतिहास, अहिले पनि कुरा गर्दा उहाँहरुको यातायातको इतिहास, ज्वरो छ कि छैन, खोकी छ कि छैन, श्वास फेर्नमा समस्या छ कि छैन, सीटी स्क्यानको नतिजा, पीसीआरको नतिजा, एन्टी वडीको अवस्था, सबै मिलाएर एक ठाउँ राख्दाखेरि रोग परीक्षणको दायरा बढाउन सकिन्छ ।

नमूनाको नतिजा आउन लाग्ने समय

प्रयोगशालामा आउने प्रश्न भनेको तपाईहरु पीसीआरको नतिजा कति समयमा दिन सक्नुहुन्छ भन्ने छ । मैँले अघि नै भनिहालेँ, यो जटिल प्रक्रिया हो । हामीकहाँ प्रयोग हुने संसाधनहरु छन्, २४, ४८, ९६, यसरी परीक्षण गर्न सक्ने क्षमताका छन् । एउटा गर्दा पनि झण्डै त्यही प्रक्रिया पार गर्नुपर्ने हुन्छ । सामूहिक गर्दा पनि त्यही प्रक्रिया पार गर्नुपर्ने हुनाले हाम्रो प्रयास धेरैभन्दा धेरै परीक्षणहरु एकैपटक सुरु गर्न सकियो भने एउटा निश्चित समयमा धेरैभन्दा धेरै नतिजा दिन सकिन्छ । त्यसैले हामी समूह बढाउन खोज्छौँ ।

१२, ४८, जति सकिन्छ धेरै नमूना एकैपटक गरौँ भन्ने हुन्छ । समय धेरै ढिलो भइरहेको छ, दुई घण्टा, तीन घण्टा बितिरहेको छ भने दुईचार वटा नमूनालाई पनि परीक्षण गर्न सकिन्छ । अर्को भनेको नमूनाको कति आकष्मिकता छ भन्ने पनि हो । कुनै कुर्न मिल्छ वा बिरामी अस्पताल वा आफ्नै क्वारेन्टाइनमै हुनुहुन्छ त्यसै अनुसार समूह बनाउँदा उहाँको पालो पछि आउँछ । कोही सिकिस्त हुनुहुन्छ, एकदमै चाँडो चाहिन्छ भने त्यस्ता नमूनाहरु अगाडि पनि परीक्षण गर्छौँ ।

एउटा नमूना अहिले आयो, त्यसलाई तुरुन्तै ल्याबमा पुर्‍याइयो भने ६ घण्टाभित्र पनि नतिजा दिन सकिन्छ । तर, साधारणतया हामी २४ देखि ७२ घण्टासम्म लगाउन सक्छौँ । किनकी प्रविधि हो, कहिलेकाहीँ बिग्रिन सक्छ, वा एक पटकमा नतिजा नआउन सक्छ । एकपटक दुईवटा जिन भेट्न खोज्दा एउटा मात्रै देखिन सक्छ । अर्को भेट्टाउन फेरि परीक्षण गर्नुपर्ने हुन्छ । त्यसकारण एउटा नमूना यति नै समयमा सकिन्छ भन्न हामीलाई पनि गाह्रो नै हुन्छ ।

नमूनाको परीक्षणमा गोपनियता

हामीसँग एक पटक नमूना आइसके पछि, जहाँ नमूना संकलन हुन्छ, त्यहीँ त्यसलाई एउटा नम्बर दिइन्छ । नतिजा ननिस्केसम्म त्यो नतिजा हाम्रो लागि एउटा नम्बर मात्रै हुन्छ । नमूनाको नतिजा आइसकेपछि जब त्यसलाई कम्युटरमा रिपोर्ट गर्नुपर्ने बेला हुन्छ, त्यतीबेला मात्रै उहाँहरुको नाम, उमेर आदि थाहा पाइन्छ । त्यो भन्दा अघि नम्बरले नै काम हुन्छ ।

(डा. झाले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा गरेको सम्बोधनमा आधारित)