रमेश लम्साल र नारायण ढुङ्गाना – त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढीरहेको छ । दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन् । केही समय बस्छन् र लगत्तै फर्कन्छन् । कहिले नेपाली सेनाका सवारी पुग्छन् त कहिले सशस्त्र प्रहरी बलका । कहिले नेपाल प्रहरीका सवारी हान्निँदै पुग्छन् । वीर अस्पताल, शिक्षण अस्पतालका एम्बुलेन्स पनि उत्तिकै पुग्छन् । एम्बुलेन्स किन गएका होलान् भनेर जिज्ञासा पनि आमरुपमा उत्पन्न हुनसक्छ । विश्व स्वास्थ्य सङ्गठन र सरकारले तय गरेको मापदण्डविपरित गएर भने विश्वविद्यालय परिसरमा कुनै भीडभाड गरिएको छैन । आखिर के छ त विश्वविद्यालय परिसरमा ?

जवाफ सहज छ, राष्ट्रिय आविष्कार केन्द्र । नेपालको ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पु¥याउनेलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका महावीर पुनले विश्वविद्यालय परिसरमा नै केन्द्र स्थापना गरेका छन् । केन्द्रमा आजकल दैनिक २० जना दिनरात नभनी काम गरिरहेका छन् । केन्द्रका प्रमुख पुन पोखरामा छन् । तर उनी पोखरामा रहेको भान कोही कसैलाई पनि छैन । केन्द्रमा भइरहेको कामकारवाहीको बारेमा उनले श्रव्यदृश्य माध्यमबाट निगरानी मात्रै गर्दैनन्, निर्देशनसमेत दिन्छन् । “तिमी केटाहरुले सङ्कटको समयमा पार लगाउन सक्छौ, कि सक्दैनौ, नेतृत्व क्षमता देखाउन सक्छौ, कि सक्दैनौ भनेर जिम्मा नै दिनुभएको छ पुन सरले”, आविष्कार केन्द्रमा संयोजन गरिरहेका इन्जिनीयर शङ्कर ढकालले भने ।


ADVERTISEMENT


 # #


कोरोनाको सङ्क्रमणबाट जोगाउने लक्ष्यका साथ राष्ट्रिय आविष्कार केन्द्रमा महत्वपूर्ण काम भइरहेको छ । विश्वव्यापी रुपमा नै कोरोनाको महामारी बढ्दै गएकन बेला स्वास्थ्यकर्मीलाई अत्यावश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उत्पादन गरिरहेको छ केन्द्रले । पीपीई मिलाउने र पट्याउने काममा १० दिनदेखि खटिइहेका पर्वतका अमबहादुर रोकालाई सङ्कटको समयमा दिनरात नभनी काम गर्दा पनि थकाइको महसुस भएको छैन ।

व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) व्यवस्थापन गर्दै स्वयंसेवक अमबहादुर रोक्का ।

कोभिड–१९ लागेका मानिसका लागि खाना औषधि पुर्याउन रोबोट बन्दैछ । सो कार्यका लागि इन्जिनीयर सुरज कार्की, किरण रौनियार, रिकेश देव, राम चौधरीलगायत छ जनाको समूहले काम गरिरहेको छ । फ्याकिएका ट्रलीको सदुपयोग गरिएको छ । बाहिरबाट मालसामान ल्याउनुपर्ने बाध्यता पनि छैन । फ्याकिएका सामान नै प्रयोग गरेर रोबर्ट तयार हुँदैछ । सोमबार डेमो गरिसकिएको छ । “स्वचालित बनाउनका लागि आवश्यक प्रणाली जडान हुँदैछ, अब केही दिनमा तयार पार्छौँ, यसले बिरामी जहाँ हुन्छ त्यहाँ खाना र औषधि लिएर जान्छ, मानिस गइरहनु पर्ने आवश्यकता हुँदैन”, ढकालले भने।

बिरामीलाई औषधि र खानेकुरा पुर्‍याउन जाने रोबोट तयार पार्दै इन्जिनियर ।

रोबोट अबको तीन दिनमा तयार हुनेछ । सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा विभिन्न तीन तल्लामा कोरोनाका बिरामी उपचार गर्ने स्थान बन्दैछ । आईसीयू तयार हुँदैछ । वीरेन्द्र सैनिक अस्पताल, टेकु अस्पताल सबै क्षेत्रमा १५ देखि २० वटा रोबोट तत्कालै आवश्यक परेको छ । माग पनि उत्तिकै आइरहेको छ केन्द्रलाई । कोरोनाको उपचार गराइरहेका बिरामी र चिकित्सकबीच कुनै पनि समयमा प्रत्यक्ष सम्पर्क नहोस्, खाना तथा औषधि पुर्याउनसमेत सहज होओस् भनेर नै रोबोट तयार पारिएको इन्जिनीयर कार्कीले बताए ।

सब्जी कोठी

इन्जिनीयर गौरव दासको चटारो पनि उस्तै छ । दासलगायतको समूहले सब्जी कोठी बनाइरहेको छ । किसानले तरकारी १० देखि ४० दिनसम्म जस्ताको तस्तै राख्न सक्छन् कोठीमा । गाडीबाट घरघरमा पुर्याएर बिक्री गर्नसमेत सकिन्छ । त्यसमा डिस इन्फेक्सन च्याम्बर राखिएको छ । त्यसले जुनसुकै भाइरस पनि मारिदिनसक्छ । त्यसभित्र एक प्रकारको कृत्रिम ओजन तह बनाइएको छ ।

“योसँगै गौरवकै नेतृत्वमा पीपीई, ग्लोब्स, मास्क डिसइन्फेक्सन गर्ने यन्त्रको आविष्कार गरिरहेको छ । काम अन्तिम चरणमा रहेको छ । एक प्रकारको अल्ट्रा भाइलेट रे युक्त (यूभी) बनाइँदै छ । त्यो झण्डै ओभन जस्तै हुन्छ । केही दिनमा तयार हुँदैछ”, दासले भने। त्यसभित्र एक प्रकारको बाकस हुन्छ । त्यहाँ राखेपछि एक पटक प्रयोग गरिएका सामान फेरि प्रयोग गर्न सकिने गरी भाइरसरहित बनाइन्छ । व्यक्तिगत स्वास्थ्य एवं सुरक्षात्मक सामग्रीको अभाव भइरहेका बेलामा निर्मलीकरण गरेर पनि प्रयोग गर्नसक्ने ओभन जस्तै यूभी बनाउन लागिएको दासले जानकारी दिए ।

जनकपुर निवासी २६ वर्षका गौरव मेकानिकल इन्जिनीयर तथा जुनियर वैज्ञानिक पनि छन् । दुई वटा शोधको त उनीसँग ‘प्याटेन्ट राइट’ नै छ । सब्जी कोठी र दर्जी उनको प्याटेन्ट राइट भएका अविष्कार हुन् । दास थापाथली इन्जिनीयरिङ अध्ययन संस्थानका विद्यार्थी छन् ।

बिरामीको उपचारका क्रममा अक्सिजन दिन प्रयोग हुने स्वचालित एम्बु ब्याग (रेसुसिटेटर) निर्माण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर शङकर ढकाल ।

स्यानिटाइजिङ टनेल

स्यानिटाइजिङ टनेल पनि गौरव कै नेतृत्वमा बनिरहेको छ । के छ त यसको विशेषता ? हाम्रो प्रश्न थियो, दासलाई । बिरामी, स्वास्थ्यकर्मी वा अन्य कर्मचारीले आवतजावत गर्दा, बाहिर गएर आउँदा त्यो टनेलले पूरै शरीर ‘स्यानिटाइज’ गर्छ । त्यस्तै खालको टनेल टेकु अस्पतालमा जडान गरिएको छ । त्यो आयातित हो । दासको समूहले फालिएका र काम नलाग्ने सामग्रीबाटै टनेल बनाइएको हो । सो मेशिनले हातमा स्यानिटाइजर गरे झैँ पूरै यसबाट शरीरलाई स्यानिटाइज गर्न सकिन्छ । जसले गर्दा एक मानिसबाट अर्को मानिसमा भाइरस सर्न पाउँदैन । मेसिनले नै शरीरमा एकैचोटी स्वानिटाइज गर्ने प्रविधि यसमा जडान गरिएको छ ।

एम्बु व्याग

आविष्कार केन्द्रमा निर्माण भइरहेको अर्को सामग्री हो एम्बु ब्याग । अहिले पनि कतिपय ठाउँमा अक्सिजन दिँदा म्यानुअल पम्पिङ गर्ने गरिन्छ । अस्पतालमा अब यो तयार भएपछि मेसिनले अटोमेटिक रुपमा पम्प गर्छ । भेन्टिलेटरमा यो खालको मेशिन राख्दा झनै प्रभावकारी हुन्छ । अस्पतालमा वा एक ठाउँबाट अर्को ठाँउमा बिरामी लैजाँदा एम्बु व्यागले ठूलो काम गर्छ । गम्भीर बिरामीलाई अक्सिजन पम्पिङ गर्दा हात प्रयोग गर्नु पर्दैन । सिधै मेशिनले गर्न मिल्ने गरी यो बनाउन लागिएको हो । हाल त्यस्तो खालको ब्याग देशभरी जम्मा ५०० मात्रै होला ढकालको दाबी छ ।

एरोसल बक्स

कोरोनाको शङ्का लागेका बिरामीको स्वाब परीक्षणका क्रममा सबैभन्दा बढी सक्रमणको जोखिममा चिकित्सक नै हुन्छ । उपचारका क्रममा बिरामीले वाकवाक गर्छ, ह्याच्छयूँ गर्छ, त्यसबेला त्यो थुक चिकित्सक नर्ससम्म आउन नदिनका लागि नयाँ बाकस आविष्कार गरिएको ढकाल बताउँछन्। जसको नाम ‘एरोसल बक्स’ राखिएको छ । एउटा बाकसमा सिसा लगाइएको हुन्छ । हात छिर्न मिल्ने गरी दुई वटा प्वाल बनाइएको छ । बिरामी बेडमा रहेको बेलामा आवश्यक परीक्षण र उपचारका क्रममा यो बक्स प्रयोग गरिन्छ । विभिन्न अस्पतालबाट यसको माग भइरहेको छ । चितवनको कलेज अफ मेडिकल साइन्सेज र शिक्षण अस्पतालबाट समेत माग आइसकेको छ ।

पीपीई बुथ

केन्द्रले तयार पारेको अर्को आविष्कार हो, पीडीई बुथ । कोरोनाभाइसर स्याम्पल कलेक्सन बुथ (पीपीई बुथ)को रुममा पनि त्यसलाई लिन सकिन्छ । यो एउटा ठूलो बक्सा हो । बक्साभित्र चिकित्सक बस्छन् । बक्साको एक भागमा सिसा राखिएको हुन्छ । सिसामा दुई वटा हात छिराउन मिल्ने प्वाल राखिएको छ । रबर पञ्जामा पीपीईको कपडा जोडेर बनाइएको नयाँ पञ्जा त्यस प्वालमा जोडिन्छ । त्योभन्दा बाहिर प्लाष्टिकको नयाँ पञ्जा प्रयोग हुन्छ । रासस

प्रतिकृया

प्रतिकृया