भक्तपुर – भक्तपुरका मस्जिदमा रहेका मुस्लिमको कोरोना परीक्षण गरिएको छ । पछिल्लो समय वीरगञ्ज र उदयपुरलगायतका जिल्लामा मस्जिदमा रहेका मुस्लिम समुदायका व्यक्तिमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा यहाँका मस्जिदमा रहेका सबैको आज भक्तपुर अस्पतालमा कोरोना परीक्षण गरिएको हो ।


ADVERTISEMENT


प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लामा तीन मस्जिद र एक मदरसामा रहेका आठ जनाको कोरोना परीक्षण गर्दा उनीहरुको रिपोर्टमा कोरोना नेगेटिभ आएको जानकारी दिए । प्रहरीको समन्वयमा अस्पतालको रेस्क्यु टोलीले उनीहरुलाई मस्जिदबाट अस्पताल ल्याएर कोरोना परीक्षण गरेको हो ।


ADVERTISEMENT

# # #


भक्तपुर नगरपालिकाको हनुमानघाटस्थित जामे मस्जिदमा रहेका छ जना मुस्लिम जमाती र बोडेस्थित जनीउपर मासअल्लाह मस्जिद तथा जरै अरकम मदरसामा रहेका दुई जना गरी आठ जनाको कोरोना परीक्षण गरिएका हो ।

दिल्लीमा भएको एक धार्मिकसभामा सहभागी मुस्लिम समुदायमा कोरोना देखिएपछि निश्चिन्त हुन जिल्ला प्रशासनले भक्तपुरभित्र रहेका मस्जिदमा आश्रय लिएर बसिरहेकाको कोरोना परीक्षण गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले मस्जिदबाट ल्याइएकाको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना नेगेटिभ आएको बताए ।

अस्पतालमा द्रुत विधि (आरडिटी)बाट उनीहरुको कोरोना परीक्षण गरिएको थियो । डा गौतमका अनुसार भक्तपुर अस्पतालले आरडिटी र पिसिआर गरी हालसम्म ४०० को परीक्षण गरिसकेकामा सबैको रिपोर्ट नेगेटिभ आएको र १० जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए । रासस