जनकपुर – जनकपुरधाम उपमहानगरपालिका–५ मा रूपैयाँ छरेर कोरोना भाइरस सङक्रमण गराउन खोजेको आरोपमा पक्राउ गरिएका महिलाको स्वाब परीक्षण परिणाम ‘नेगेटिभ’ देखिएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा महिलाको स्वाबको पिसिआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।


ADVERTISEMENT


प्रदेश प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहका अनुसार हिजो तीव्र प्रविधिबाट परीक्षण गर्दा एक महिलाको नतिजा ‘पोजेटिभ’ आएकामा आज ती महिलाको घाँटीको स्वाबलाई पिसिआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको छ । अर्की महिलाको भने हिजै परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । उनीहरु नाताले नन्द भाउजु हुन् ।


ADVERTISEMENT

# # #


यही वैशाख ५ गते १२ः३० बजे वडा नं ५ को महावीर चोकमा रूपैयाँ छरेर फरार भएको सूचनाका आधारमा सिसिटिभीको फुटेजका माध्यमले दुई महिलाको पहिचान गरी हिजो शनिबार प्रहरीले नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पतालमा पठाएको थियो ।

प्रहरीले रूपैयाँ छरेर फरार भएको आरोपमा धनुषा जिल्ला धनौजी गाउँपालिका–५ बहुअर्वाका ५० वर्षीया अमुना खातुन र उनका नन्द जनकपुरधाम उपमहागरपालिका–७ का ३५ वर्षीया अलिना खातुनलाई नियन्त्रणमा लिएको थियो ।