जाजरकोट – घरेलु कपडा सिलाइबुनाइ तालिममा चार महिनाअघि नेपालगञ्ज गएकी जाजरकोटको बारेकोट गाउँपालिका–१ की भद्रकला बोहरा बन्दाबन्दीका कारण उतैको रोकिएकी छन् ।


ADVERTISEMENT


घर आउने चाहना भए पनि बारेकोटसम्म हिँडेर आउने अवस्था नभएपछि उहाँ नेपालगञ्जको एक होटेलमा बसेर दैनिक छोराछोरीसँग फोनमा कुरा गर्दै चित्त बुझाइरहेकी छन् । नेपालगञ्जबाट जाजरकोट सदरमुकाम ३२ कोस टाढा मानिन्छ । बोहरालाई कसैले उद्धार गरेर बारेकोट पुर्याइदिन्छ कि भन्ने आशा भने मरेको छैन । उनी भन्छिन्, “माइतीघरमा रहेका आमाबुबाको जिम्मामा १२ वर्षको छोरा र १४ वर्षकी छोडेर आएकी हुँ । उनीहरुले ‘कहिले आउनुहुन्छ आमा !’ भनेर फोन गर्छन्, तर म बन्दमा परेको छु भनेर सम्झाउँछु, पत्याउँदैनन् ।”


ADVERTISEMENT

# # #


बारेकोट सिनाकोटमा लकडाउनको खासै प्रभाव नभएका कारण छोराछोरीले यो कुरा सजिलै पत्याउने अवस्था छैन । भद्रकलासँगै बारेकोटका मजदुरी गर्न भारत गएकादेखि काठमाडौँबाट आएर अलपत्र परेका ७६ नेपालगञ्जमा छन् । पर्याप्त खर्च नभएकाले आफूहरु होटेलमा सँधै खाना खाने अवस्थामा नरहेको अर्का पीडित सुरेन्द्र बोहराले बताए ।“चिच्याउने हो भने पनि सुन्ने कोही छैन, मुटु भक्कानिएर आउँछ के गर्नु, हिँडेर जानसक्ने अवस्था छैन ।” बोहराले भने ।

काठमाडौँबाट आएर नेपालगञ्जमै लकडाउनका कारण रोकिएका नन्दलाल बस्नेतले पनि होटलमा खाँदा सबै रकम सकिएको बताए। नेपालगञ्जको स्थानीय सरकार र प्रशासनले समेत केही नहेरेको गुनासो छ । डोल्पाका २० भन्दा बढी सर्वसाधारण पनि नेपालगञ्जमै अलपत्र परेका छन् । गाउँघरमा खेतीबाली लगाउने समय भइसकेकाले उनीहरु थप चिन्तित छन् । वैशाखको पहिलो हप्तादेखि नै मकै, गहुँ, तरकारी, भित्र्याउनेदेखि मकै रोप्नेसम्मका काम हुने गरेको छ ।

प्रभावितहरुको समस्या थाहा पाएपछि बारेकोट गाउँपालिकाले आफ्ना नागरिक अलपत्र परेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकालाई चिट्टी लेख्दै सबैलाई राहत सामग्री दिन अनुरोध गरेको छ ।

बारेकोट गाउँपालिकाले लेखेको पत्रमा भनिएको छ, “आवश्यक प्रमाणपत्र नपुगेका सर्वसाधारणलाई पनि यसै पत्रमा उल्लेख भएको नामवालीका आधारमा राहत उपलब्ध गराउन अनुरोध छ ।”

त्यस्तै दैलेख घर भएका २० भन्दा बढी सर्वसाधारण रुकुमपश्चिमको सानीभेरी नगरपालिकामा पुगेका छन् । उनीहरु जाजरकोट हुँदै दैलेख जान चाहेको टेलिफोनमार्फत जानकारी गराएका छन् । उनीहरुले स्थानीय सरकारसँग घर जानका लागि यातायातको व्यवस्थाका लागि आग्रह गरेका छन् ।

पछिल्लो समयमा जाजरकोट घर भई काभ्रे, भक्तपुर, ललितपुर र काठमाडौँमा ज्यालादारी काम गरिरहेका ४४१ मजदुरलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा काठमाडौँबाट जाजरकोट पठाइएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी नेताहरु नारायण घर्ती, मुक्ति बस्नेत, मुस्कान रोकाय र ज्ञानु खड्काले ठाउँठाउँबाट मजदुरलाई काठमाडौँको गुर्जुधारा जम्मा गरी जाजरकोट पठाएका हुन् । रासस