खाडि तथा मलेसियास्थित नेपाली राजदूतहरुले कोरोना भाइरसको विश्वव्यापी महामारीको यस अवस्थामा नेपाली समूदायको सुरक्षा आफुहरुको पहिलो प्राथमिकतामा रहेको बताउदै उनीहरुको रोजगारीको अवस्थाबारे भने अहिल्यैबाट समिक्षा गरिनुपर्ने बताएका छन । वैदेशिक रोजगार पत्रकार समाजले बुधबार साँझ गरेको भिडियो कन्फरेन्समा उनीहरुले उक्त कुरा बताएका हुन ।


ADVERTISEMENT


यसअघि खाडि तथा मलेसियास्थित नेपाली राजदूतहरुको छलफलमा त्यस क्षेत्रमा नेपालीहरुको सुरक्षासहित उनीहरुको रोजगारीको अवस्थाबारे छलफल भएको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताइन । ढकालले यस क्षेत्रका मुलुकहरुले कोरोना संक्रमितको उपचारमा आप्रवासी कामदारलाई पनि आफ्ना मुलुकको नागरिकसरह व्यवहार गरेको बताइन ।


ADVERTISEMENT

# # #


ढकालले यस महामारीका कारण रोजगारदाता मुलुकहरु स्वयं संकटमा पर्नसक्ने र यसबाट नेपालीहरुको रोजगारी गुम्ने अवस्थासमेत आउन सक्ने भन्दै उनीहरुको सुरक्षासँगै सबैभन्दा ठुलो विषय स्वदेश फकर्नुपरे स्वदेशमै हुनसक्ने रोजगारीका सम्भावना बारे अहिल्यैबाट समिक्षा सुरु गर्नुपर्ने बताइन ।

यस्तै बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले आप्रवासी कामदारहरु संक्रमित भएको अवस्थामा अहिलेसम्म उपचारमा चिन्ता लिनुपर्ने अवस्था नरहे पनि भोलीका दिनमा उनीहरुको अवसर र रोजगारीमा विषयमा भने अहिल्यैबाट सोचिनुपर्ने धारणा राखेका थिए ।

भिडियो कन्फरेन्समा बोल्दै गैरआवासीय नेपाली संघ (एनआरएन)का सचिव आरके शर्माले कोरोनाका कारण आगामी दिनमा थप अवस्था भयभह हुनसक्नेतर्फ सोच्दै नेपाली संघसंस्थाका अलवा वैदेशिक रोजगार बोर्डमा रहेको कामदार कल्याणकारी कोषको रकम परिचालन गरिहाल्नु आवश्यक रहेको बताए ।

यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले सबैभन्दा पहिला आफु सुरक्षित हुनुपर्नेमा जोड दिदै रोजगारी भन्दा पनि आफ्नो सुरक्षामा ध्यान दिन जहा आफु बसेको हो त्यही सुरक्षित भएर बस्न प्रवासमा रहेका नेपालीहरुलाई आग्रह गरेका थिए । उनले प्रधानमन्त्रीले समेत रोजगारदाता मुलुकका राष्ट्र प्रमुखहरुसँग नेपालीको सुरक्षा र रोजगारीको विषयमा कुराकानी गरिरहेको समेत बताए ।

भिडियो कन्फरेन्समा समाजका समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार मध्यान्ह दैनिकका सम्पादक मदन कुमार श्रेष्ठ, मध्यान्ह दैनिकमै आवद्ध समाजका महासचिव रेशम राज पौडेल, समाजका सल्लाहकार तथा नागरिक राष्टिय दैनिकका रुद्र खड्का, समाजका सल्ल्लाहकार तथा नयाँ पत्रिका राष्ट्रिय दैनिककी मुना कुँवर, रोजगार मिडियाका सम्पादक उद्धवराज भट्टराई, रेडियो कान्तिपुरकी ईन्द्रलक्ष्मी घिमिरे, अन्नपूर्ण पोष्ट दैनिकका तुलसी सुवेदी, सामुदायिक रेडियो सञ्जालका केशब भुल, नेपाल लाइभ अनलाइनकी निर्मला घिमिरे सहभागी रहेका थिए ।

त्यसैगरी नयाँ पत्रिका अनलाइनकी अरिश्मा मोक्तान, डिसी नेपाल अनलाइनका विनेश खनाल, विकाश न्युन अनलाइनकी सुनिता पुडासैनी, प्रभाव दैनिकका कार्यकारी सम्पादक कमल राई, आर्थिक दैनिकका प्रविन राउत गरी दर्जन बढी पत्रकार सहभागी डिजिटल कन्फरेन्समा वैदेशिक रोजगारीका क्रममा रहेका कामदारहरुले भोगनु परेका समस्या, उनीहरुको उद्धार राहतका विषयमा प्रश्नहरु राखेका थिए । डिजिटल कन्फरेन्सको सञ्चालन समाजका अध्यक्ष हरि बहादुर थापाले सर्लाहीको हरिवनबाट र मुना कुँवरले काठमाडौंबाट संयोजन गरेकी थिइन् ।