काठमाडौँ – प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवादास्पद अध्यादेश फिर्ता लिएकोमा सरकारलाई धन्यवाद दिएका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा बालुवाटार भेट्न पुगेका देउवाले दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धि अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको भन्दै धन्यवाद दिएका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै भेटमा उनले प्रधानमन्त्री ओलीलाई समाजवादी पार्टीका सांसद एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही गर्न सुझाव दिएका छन् ।

‘दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भयो, त्यसका लागि धन्यवाद छ । तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ ।’ उनले भने, ‘मेरो माग यहि छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ ।’

यस्तै उनले कोरोनाविरुद्ध लड्नका लागि व्यापक स्तरमा परीक्षण नै आजको आवश्यकता भएको भन्दै त्यसमा ध्यान दिन आग्रह गरेका छन् । स्वास्थ्यकर्मीलाई आवश्यक उपकरणहरु नपुगेको र उनीहरुलाई हतोत्साहित गर्ने खबर सुनिरहेको भन्दै उनले त्यो रोकिनुपर्ने बताए । उनले लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका र थुनिएका श्रमिकहरुलाई कि खानपानका उचित व्यवस्था नभए व्यवस्थित तरिकाले घर पठाउन माग गरे ।

सभापति देउवाले श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठुला सबै व्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउन माग गर्नुका साथै विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्दार गर्न पनि आग्रह गरे । ‘विदेश रहेका नेपालीले हिजो देशलाई रेमिटेन्स पठाएर योगदान गरे, आज उनीहरु अप्ठ्यारोमा परेका छन् ।’ उनले भने, ‘त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्दार गर्ने बारे तत्काल योजना सार्वजनिक गर्नोस् र कार्यान्वयन थाल्नोस् ।’

यस्तै उनले देश कोरोनाविरुद्ध लडिरहेकाले यतो बेलामा कुनैपनि किसिमका विवादास्पद कुराहरु नल्याउन प्रधानमन्त्री ओलीलाई सुझाए ।