काठमाडौं –  वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीय पर्व आज दान, होम, जप, तप गरी मनाइँदैछ । पौराणिक मान्यता अनुसार आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।


ADVERTISEMENT


आजका दिन सदाशिव भगवान महादेव र हिमालयकी पुत्री देवी पार्वतीका बीचमा विवाह भएको मानिन्छ । यसैगरी आजैका दिन चार युग मध्ये सत्य र त्रेता युगको सुरुवात भएको मानिन्छ । यो तिथि एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनै पनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो ।


ADVERTISEMENT

# # #


वेदव्यासले यसै दिन महाभारतको रचना गरेको विश्वास गरिन्छ । अक्षय तृतियाको दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ ।

आज जौको सातुमा गुड, चिनी, घिउ, मह मिसाएर सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक विश्वासका कारण शातु सर्वत दान गर्ने र खाने चलन छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।

आज निराहार व्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने विश्वास गरिन्छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म भएकाले यो दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।