भेषराज बस्नेत, राँझा – बाँकेका स्थानीय तहले भारतीय तरकारी बिक्री वितरणमा रोक लगाएका छन् । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा पनि गाउँगाउँमा पुग्ने भारतीय तरकारीबाट सङ्क्रमणको जोखिम बढेको भन्दै भारतीय सीमासँग जोडिएका यहाँका स्थानीय तहले बिक्री वितरणमा रोक लगाएका हुन् ।


ADVERTISEMENT


बाँकेसँग जोडिएको भारतको उत्तर प्रदेशका जिल्लामा कोरोनाको सङ्क्रमण बढ्दो रहेकाले पनि भारतीय तरकारीबाट सङ्क्रमणको जोखिम बढेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो ।उहाँले कोरोना सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीलाई थप कडाइ गर्दै आइतबारदेखि भारतबाट आयात तथा बिक्री वितरण हुने तरकारीमा पनि रोक लगाइएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


‘‘खजुरा गाउँपालिकाको वडा नं १ राधापुर क्षेत्र भारतसँग जोडिएकाले त्यहाँ सशस्त्र प्रहरी तथा राधापुरचौकीलाई भारतीय तरकारी रोक्न आग्रह गरिएको छ भने स्वयंसेवक दस्ता पनि परिचालित हुने गरेको छ’’, उनले भने, ‘‘सीमा क्षेत्रमा पूर्णरुपमा आवतजावत रोक्न सुयुक्त सुरक्षा फौज लागिपरेको छ ।’’

खजुरा क्षेत्रका किसानले उत्पादन गरेको तरकारीलगायत कृषि उत्पादन पर्याप्त रहेकाले भारतीय तरकारीमा रोक लगाउँदै स्थानीय कृषि उपजको बजारीकरणमा ध्यान दिइएको उनको भनाइ छ । बन्दाबन्दीका कारण किसानको खेतमा अलपत्र तरकारी बजार व्यवस्थापनका लागि खजुरा क्षेत्रका अगुवा कृषक र कृषि सहकारीका प्रमुखसँगको छलफल गरेर खजुरामै कृषि उपजको खपत गर्नेतर्फ गाउँपालिकाले जोड दिएको अध्यक्ष कक्षपतिले जानकारी दिए ।

बाँकेकै कोहलपुर नगरपालिकाले पनि भारतीय तरकारी बिक्रीवितरणमा रोक लगाउँदै नेपाली किसानले उत्पादन गरेको तरकारी कृषि बजारसम्म पु¥याउने व्यवस्था गर्न लागिरहेको छ । नागरिकस्तरबाटै भारतीय तरकारी बिक्रीवितरणमा रोक लगाउनुपर्ने माग भएपछि अहिले नगरपालिकाले त्यसलाई कार्यान्वयन गरिरहेको नगर प्रमुख लुटबहादुर रावतले बताए । ‘‘विगतमा गाडीका गाडी आउने भारतीय तरकारी आयातमा रोक लगाइएको छ, लुकिछिपी आउने व्यापारीहरुलाई समेत बिक्रीवितरणमा रोक लगाउने तयारी भइरहेको छ’’, नगरप्रमुख रावतले भने ।

अहिले पनि व्यापारीले ठेला र साइकलमा नेपालगञ्जका टोलटोलमा भारतीय तरकारी पुर्याउने गरेका छन् । भारतीय तरकारी पूर्ण रुपमा आयात रोक लगाएर बाँकेमा किसानले उत्पादन गरेको तरकारीलाई बजारीकरण गनुपर्ने नागरिकस्तरबाट माग गर्न थालिएको छ । स्थानीय मानवअधिकार सञ्जाल नेपालगञ्जका संयोजक तेजविक्रम शाह भारतबाट दैनिक रुपमा ठूलोमात्रामा भित्रिने तरकारीबाट कोरोनाको जोखिम बढेकाले तुरुन्तै यसतर्फ स्थानीय सरकार सजग हुनुपर्ने बताउँछन् । कम्तीमा आआफ्नो स्थानीय तहमा भारतीय तरकारी बिक्री वितरणमा रोक लगाउन सकिए पनि ठूलो उपलब्धि हुन सक्ने उनको भनाइ छ ।

बन्दाबन्दीका कारण नेपाली किसानले आफूले उत्पादन गरेको तरकारी बजार पुर्याउन सकिरहेका छैनन् । बाँकेमा व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका खजुरा गाउँपालिका –२ सीतापुर निवासी अगुवा किसान लालबहादुर खत्री भन्छन्, ‘‘सबभन्दा ठूलो कुरा स्वास्थ्य हो, रोग नलागेर बाँचियो भने तरकारी त अर्को सिजनमा बेचौँला । अहिले किसानले तरकारी बिक्री गर्दै हिँड्ने र उपभोक्ताले हरियो तरकारी खोज्दै हिँड्ने अवस्था होइन, घरमा जेजस्तो छ त्यसैले निर्वाह गर्नुपर्ने हो, त्यसो हुन सकिरहेको छैन ।’’

हरियो तरकारी अत्यावश्यक भन्दै घरघरमा पुर्याउँदा त्यसैबाट कोरोना सङ्क्रमण फैलिन सक्नेतर्फ सचेत हुनुपर्ने उनको सुझाव छ । गाउँमा उत्पादित तरकारी किसानले बजारमा ल्याउन नसकेपछि यहाँ सञ्चालित सब्जीमण्डीमा ९० प्रतिशत भारतीय तरकारी रहेको छ ।

बन्दाबन्दीपछि पनि नेपालगञ्ज नाकामार्फत भारतबाट खाद्यवस्तुसँगै तरकारी पनि नियमित रुपमा आयात भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्ताराम निरौलाले जानकारी दिए । नेपालगञ्ज नाकाबाट आयात भएको तरकारी प्रदेश नं ५ का बाँके, बर्दिया र कर्णाली प्रदेशका जिल्लामा निर्यात हुने गरेको छ ।

भारतबाट आयातीत तरकारी महँगो दरमा घरघरमा पुग्ने गरे पनि बाँकेमा व्यावसायिक रुपमा उत्पादित तरकारीले भने बजार नपाउँदां किसान मर्कामा परेको खजुरा सीगाउँ निवासी किसान अर्जुन उप्रेतीले बताए । उनले नेपाली किसानले उत्पादन गरेको तरकारी खेतबारीमै नोक्सानी गराएर भारतबाट तरकारी आयात गर्ने कार्य बन्द गरिनुपर्ने माग गरे । किसानले उत्पादन गरेको तरकारी गाउँमै पुगेर खरीद गर्ने व्यवस्था स्थानीय सरकारले मिलाउनुपर्ने उनको सुझाव छ ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल बन्दाबन्दीका कारण किसानले उत्पादन गरेको तरकारी बिक्रीका लागि थोक बजारसम्म पुर्याउन नसक्दा भारतीय तरकारीको बिक्रीवितरण भएको हुन सक्ने बताउँछन् । बन्दाबन्दीमा किसानसँग आवतजावतको इजाजत नहुँदा बजारमा तरकारी बिक्री गर्न ल्याउन नसकिएको र यस सम्बन्धमा प्रशासनसँंग पहल भइरहेको प्रमुख ढकालको भनाइ छ ।

बाँकेमा ३१ हजारलाई राहत

बन्दाबन्दीबाट प्रभावित बाँकेका विपन्न समुदायका ३० हजारभन्दा बढी घरधुरीलाई स्थानीय तहमार्फत राहत सामग्री वितरण गरिएको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीले प्रभावित दैनिक ज्यालादारी काम गरी खाने मजदूर तथा विपन्न समुदायका ३० हजार ५४६ घरधुरीलाई यहाँका आठ स्थानीय तहले अत्यावश्यकीय खाद्य सामग्री उपलब्ध गराएका हुन् ।

अधिकांश स्थानीय तहले पहिलो चरणको रुपमा राहत सामग्री वितरण गरिसकेका छन् भने केही स्थानीय तहले वितरण गरिरहेका छन् । बाँकेका स्थानीय तहमध्ये सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिका र थोरै घरधुरीलाई नरैनापुर गाउँपालिकाले राहत वितरण गरेको पाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले चामल, पीठो, दाल, तेल, नुन र एउटा साबुन नगरका मजदूर तथा विपन्न समुदायका साथै बन्दाबन्दीले प्रभावित भाडामा बस्नेहरुका लागि वडामार्फत सूची तयार गरेर वितरण गरेको नगर प्रमुख डा धवलशम्शेर राणाले बताए।

कोहलपुर नगरपालिकाले बन्दाबन्दी प्रभावित नागरिकलाई पहिलो चरणमा राहत वितरण गरेको र भोकै रहन नदिन आवश्यकतानुसार दोस्रो चरणमा पनि अत्यावश्यकीय राहत सामग्री वितरण गर्ने नगर प्रमुख लुटबहादुर रावतले बताए ।

राप्तीसोनारी गाउँपालिकाले बन्दाबन्दीबाट प्रभावित विपन्न समुदायको वडास्तरबाट सङ्कलन भएको तथ्याङ्कका आधारमा राहत वितरण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । जानकी गाउँपालिकाले पहिलो चरणमा सबै वडामा राहत वितरण गरिसकेको छ । छ वटै वडाबाट आएको तथ्याङ्कका आधारमा राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले जानकारी दिए ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले पहिलो चरणमा खाद्यान्न वितरण गरिएको र दोस्रो चरणका लागि आवश्यकतानुसार तयारीका क्रममा रहेको जानकारी दिए । खजुरा गाउँपालिकाले आठै वडाले पठाएको सूचीअनुसार प्रत्येक परिवारलाई चामल, दाल नुन र तेल वितरण गरेको छ । डुुडुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले राहत वितरण भइरहेको बताए ।

नरैनापुर गाउँपालिकामा पहिलो चरणमा राहत वितरण गरिसकिएको र आवश्यक परेकालाई दोस्रो चरणमा पनि राहत दिने तयारी भइरहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । सबै स्थानीय तहले एकद्वार प्रणालीबाट राहत वितरण गरेका छन् । राहत सहयोग गर्न चाहने सङ्घसंस्था तथा व्यक्तिले स्थानीय तहमा हस्तान्तरण गरेपछि एकद्वार प्रणालीबाट राहत वितरण भएको जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बताए । उनले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि स्थानीय तहले गरिरहेको कार्य र बन्दाबन्दीबाट प्रभावितलाई भइरहेको राहत वितरणको जिससले अनुगमन गरिरहेको जानकारी दिए । रासस