विराटनगर – रेडियो नेपालकी प्रथम गायिका एवं स्वतन्त्रता सेनानी रानुदेवी अधिकारीको निधनले विराटनगरवासी दुखित भएका छन् । उनको ८६ वर्षका उमेरमा गए राति काठमाडौँ सिनामङ्गलस्थित मेडिकल कलेजमा निधन भएको थियो ।


ADVERTISEMENT


विराटनगर कोइराला निवासका विश्वासिलो पात्र तथा नेपाली काङ्ग्रेसप्रति आस्थावान् अधिकारीलाई चिन्ने, जान्ने एवं सम्बन्ध हुने मानिसहरु उनको निधनमा गहिरो दुःखमा छन् । सन् १९३६ नोभेम्बर २७ तारिखमा वीरगञ्जमा जन्मिएकी अधिकारीको बाल्यकाल भारतमा बितेको थियो । उनले विसं २००७ मा कृष्णप्रसाद कोइरालाका छोरा तारिणिप्रसादले विराटनगरस्थित रघुपति जुट मिलमा स्थापना गरेको प्रजातन्त्र रेडियोमा पहिलो गीत गाउने र समाचार वाचन गर्ने काम गरेकी थिइन् । विराटनगरको आदर्श बालिका विद्यालयमा अध्यापन गरेकी उनी अत्यन्त सरल स्वभावकी थिइन् ।


ADVERTISEMENT

# # #


शास्त्रीय संगीतमा विशेष लगाव राखेकीका अधिकारीका नेपाली अघि बढ, हातमा क्रान्ति झण्डा लिई, जागे नेपाली उठे नेपाली, जुनेली रात हजुर लगायत गीत चर्चित छन् । उनका ६ गीत प्रजातन्त्र रेडियोमा रेकर्ड भएको बताइएको छ । ती गीतले जहानियाँ राणा शासनविरुद्ध सङ्घर्षरत प्रजातान्त्रिक योद्धालाई आन्दोलनमा रहन उत्साह भरेको थियो ।

निरङ्कुशताविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा उनले कला र साङ्गीतिक मोर्चामा रहेर काम गरेको विराटनगरका साहित्यकार दधिराज सुवेदी बताउँछन् । अधिकारीको जीवनीमा आधारित ‘मेरो कथा’ नामक पुस्तक पत्रकार शङ्कर खरेलले प्रकाशन गरेसँगै उनको थप चर्चा चुलिएको थियो । जनआन्दोलनपछि केही समयका लागि नेपाल महिला संघ मोरङका अध्यक्षसमेत भएकी अधिकारी २०३६ सालको शिक्षक आन्दोलनमा कारागार परेकी थिइन् ।

अधिकारीको गए राति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्व अधिकारीका एक छोरा र दुई छोरी छन् ।