– सरिता हुमागाईं (पाण्डे)


ADVERTISEMENT


शिक्षालय मेरा लागि शिक्षारम्भ देखि नै कार्यथलो बन्यो । यसकै सेरोफेरोमा रमाउन थालेको चार दशक नाघिसक्यो । तर, दुःख लाग्ने कुरा के छ भने, हाम्रा शिक्षालयको शैक्षिक पद्धति हिजो जुन अवस्थामा थियो, आज पनि लगभग त्यस्तै अवस्थामा गुज्रिरहेको छ ।


ADVERTISEMENT

# # #


पाँच दशक अघिको अमेरिकाको शिक्षा विकास र आजको नेपालको शैक्षिक पद्धति एवं विकासमा खासै भिन्नता नरहेको कुरा शिक्षा–चिन्तक गिजुभाईको ‘दिवास्वप्न’ पढ्दा होस् वा डा. शरदचन्द्र वस्तीद्वारा अनुवादित ‘असफल स्कुल’ पुस्तक पढ्दा अनुमान लगाउन सकिन्छ । शिक्षाका राष्ट्रिय उद्देश्य अनुरूप तयार पारिएका पाठ्यक्रम कताकता भौगोलिक वातावरण अनुरूप प्रतिविम्बित नभएको भान हुन्छ ।

एक्काइसौं शताब्दीको प्रतिस्पर्धात्मक समयमा आईपुग्दा हिजो हामीले जे सिक्यौँ, जे सिकाइयो, त्यसलाई धार नभएको कैंचीले काँटछाट गरेझैं थोरै परिस्कार गरेर पुरानै शिक्षा प्रणालीलाई अनुसरण गर्न बाध्य हामी वर्तमान समयको अवस्थालाई हेरेर छट्पटिँदै बस्नु बाहेक अर्को उपाय छैन । गुरुकुल र घोकन्ते शिक्षाबाट माथि उठ्दै गुणस्तरीय, प्रयोगात्मक र व्यवहारिक शिक्षा दिन लालायित हामी सूचना र प्रविधिको अल्पज्ञानमा रुमलिन बाध्य छौं ।

शिक्षा प्रणाली सुधार्ने अवसर

यति बेला विश्व कोरना भाइरस (कोभिड-१९) को महामारीले लकडाउनको अवस्थामा छ । अल्प विकसित देशदेखि विकसित देशहरू यसको मार खेपिरहेका छन् । ठूला उद्योग धन्दा, ससाना कलकारखानादेखि विद्यालय र विश्व विद्यालय सबै बन्दको अवस्थामा छन् । जसको परिणाम स्वरूप विश्व जनसमुदाय भोलिको दिनको सहज वातावरणको पर्खाईमा छटपटाइ रहेको छ । विद्यालय र विश्व विद्यालय शिक्षा आर्जनलाई निरन्तरता दिइरहेका तल्लो तहदेखि माथिल्लो तहका सम्पूर्ण विद्यार्थीहरूमा अन्योलता छाएको छ। हाम्रो जस्तो अल्पविकसित देश, त्यसमा पनि भौगोलिक कठिनाई लगायतका कुराहरुले झनै ठूलो समस्या पैदा गरेका छन् ।

विश्वका साढे सात अर्ब बढी मानिसको साझा संकल्पका साथ समृद्ध, शिक्षित र सुरक्षित मानव सभ्यताका लागि सन् २०१६ देखि २०३० सम्म हासिल गर्ने गरी दीगो विकासका १७ वटा लक्ष्यहरु र १६९ उद्देश्यहरु लागू भएका छन् । ती १७ वटा लक्ष्य मध्ये चौंथो लक्ष्य ‘गुणस्तरीय शिक्षा’ निकै नै महत्वपूर्ण छ । जसमा सन् २०३० सम्ममा सुलभ र गुणस्तरीय प्राविधिक, व्यावसायिक तथा विश्व विद्यालय लगायत उच्च शिक्षामा सबै महिला र पुरुषको समान पहुँच सुनिश्चत गर्ने उल्लेख छ । कोभिड-१९ ले विश्व नै लकडाउनमा रहेको अवस्थाले यस बुँदालाई कार्यान्वयनको दिशामा लैजानका लागि विद्यालयदेखि विश्वविद्यालय तहसम्मका अध्यायापकहरुलाई मात्र नभई कार्यालयका कर्मचारी, सामाजिक अगुवाहरूलाई अनलाइन मार्फत आवश्यक तालिम दिनु पर्ने अवसर सिर्जना गरको छ ।

त्यसका लागि सरकारी निकायबाट सस्तो मूल्यमा कम्प्युटर जन्य उपकरण उपलब्ध गराउने, दक्ष प्राविधिक तयार पार्ने, बिजुली, इन्टरनेटमा लाग्ने महशुस कम गर्दै जाने हो भने शिक्षा आर्जनबाट बन्चित समुदायदेखि दैनिक कामकाजमा खटिने जनसमुदायलाई टाउकोमा हात राखेर बस्नु पर्ने अवस्था आउने थिएन । यसले एकातिर विद्यालयदेखि विश्व विद्यालयका विद्यार्थी, अभिभावक, सबैलाई लाभान्वित गर्ने थियो भने अर्कोतिर शिक्षालाई प्रविधिमैत्री बनाउन पनि उत्तिकै भूमिका खल्ने थियो ।

 सजिलो छैन कार्यान्वयन

पछिल्लो समय पैदा भएका असहज परिस्थितिका कारणका कारण शिक्षालय खुल्न नसकेपछि अनलाइन कक्षालाई यसको विकल्पका रुपमा अघि सारिएको छ । यसले एक किसिमले प्रविधिमैत्री शिक्षाको हाम्रो उद्देश्यमा सघाउ पुर्याउँछ । विकसित देशहरूमा प्राप्त सेवा सुविधाका कारण अनलाइन कक्षा सर्वसुलभ हुनु नौलो र अनौठो होइन । तर, हाम्रो जस्तो अल्पविकसित देशमा अनलाइन कक्षा आजको अवस्थामा अपरिहार्य भए पनि असम्भव प्रायः छ ।

पछिल्लो समय नेपालमा पनि सीमित स्कुल, क्याम्पसले अनलाइन कक्षा सञ्चालन गरेका खबर आए पनि हामीले आफ्नो अवस्था हेरेर कदम चाल्नु पर्छ । सहरी क्षेत्रमा अनलाइन कक्षाको सुविधा केही हदसम्म उपभोग गर्न सकिएला । तर, दुर्गम जिल्ला हुम्ला, मुगु, जुम्ला, बाजुराका विकट गाउँवस्ती अहिले पनि टुकी र झरो (सल्लाको काठको दियालो) बालेर जीवन धान्न बाध्य छन् । सामान्य टेलिफोनका लागि पनि घण्टौँ उकाली ओराली गर्नुपर्ने त्यस्ता ठाउँहरुमा अनलाइन कक्षा कल्पना बाहिरको कुरा हो । त्यसकारण सहरका वा सुविधा सम्पन्न विद्यालय हेरेर मात्र यस्तो कदम चालिनु उपयुक्त हुँदैन । बढ्दो सूचना प्रविधिको प्रयोगसंगै मोबाइल र फेसबुक चलाएका छन् भन्दैमा अनलाइन कक्षामा सहभागी गराउन खोज्नु सान्दर्भिक हुँदैन ।

सहरी क्षेत्रमा पनि कम्प्युटर साथमा हुनु, एप्स डाउनलोड गर्नु, इन्टरनेट जोड्नु, मासिक महसुल बुझाउनु, मर्मत गर्ने प्राविधिकको अभाव सबै चुनौतीको विषय हो । हिजोका दिनमा नै हामीले किन प्रविधिमैत्री शिक्षालाई जोड दिएनौँ ? हामीले आफ्नो शैक्षिक संरचना र प्रणालीलाई त्यसै अनुसार ढाल्न किन प्रयास गरनौँ ? शिक्षालय र विद्यार्थीहरूलाई प्राविधिक ज्ञान दिन किन जोड दिएनौँ ? प्रश्न चिन्ह खडा भएको छ।

अब के गर्ने ? 

विद्यालयको शिक्षा राष्ट्रिय उद्देश्यलाई हासिल गर्न सरकारले ग्रामीण भेगका विद्यालयमा छात्रावासको व्यवस्था ,सहरदेखि ग्रामीण भेगका विद्यालयमा पुस्तकालय, कम्प्युटर कक्षा, प्रयोगशाला, व्यावसायिक शिक्षामा जोड दिनु पर्छ ।

अहिले पनि हजारौँ बालबालिकाहरु विद्यालयको पहुँच बाहिर छन् । तिनीहरुलाई विद्यालयमा आकर्षित गर्नका लागि विद्यालयमा दिवा खाजाको व्यवस्थालाई सकारले अघि सारेको छ । यसलाई अझै विस्तार गर्नुपर्छ । कयौँ विद्यालयमा अहिले विद्याथीहरुले खानेपानी त परको कुरा शौचालयको सुविधा समेत पाउन सकेका छैनन् । प्रविधिमैत्री व्यावयसायिक शिक्षा हासिल गर्नका लागि आवश्यक भौतिक संरचनाहरुको व्यवस्था गर्नुपर्छ । विद्यालयको भौगोलिक अवस्थिति हेरेर प्राथमिक उपचारमन लागि आवश्यक व्यवस्था, खेलमैदान लगायतका सुविधा हुनु पनि अपरिहार्य छ ।

प्रविधिमैत्री शिक्षाका लागि पहिलो शर्त भनेको आवश्यक संरचना र सुविधा हो । त्यसका लागि दुर्गमका विद्यालयमा समेत बुजुली, इन्टरनेट र कम्प्युटर प्रयोगशालाको सुविधा अपरिहार्य छ । त्यस्तै शिक्षकको दक्षता अभिवृद्धिका लागि आवश्यक तालिमको बन्दोबस्त गर्नुपर्छ । प्रणाली सुहाउँदो पाठ्यक्रमको निर्माण र पाठ्यपुस्तक लगायतका सामग्रीको सहज उपलब्धभता पनि उत्तिकै महत्वपूर्ण छ ।

केन्द्र, प्रदेश र स्थानीय सरकारका साथै सम्बन्धित समुदायको आवश्यक सहकार्यले मात्रै यो सम्भव छ । यस्ता कार्यमा जुटेर लागि परेमा विद्यालय, विश्व विद्यालयका विद्यार्थी, सर्वसाधारणदेखि सिंगो देश लाभान्वित हुनेछ ।