काठमाडौँ–  प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमण पूरा गरी हिजो साँझ स्वदेश फर्किएका छन् ।


ADVERTISEMENT


उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा धर्मपत्नी तथा सांसद डा आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ ७ गते भारत गएका थिए । स्वदेश फर्कनेक्रममा त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा हिजो साँझ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणले देशको शिर उँचो बनाएको बताए।


ADVERTISEMENT

# # #


भारतमा संविधानबारे बोलिएको प्रसङ्गको जिज्ञासामा प्रधानमन्त्री देउवाले सरकारले अघिसारेको संविधान संशोधनको प्रस्ताव मधेशी जनताको भावनालाई समेट्ने प्रयासस्वरुप संशोधन प्रक्रिया अघि बढाइएको र यही विषयलाई आफूले भारतमा प्रसंग उठाएको भन्दै भ्रमणका बेला विदेशमा के बोल्ने के नबोल्ने भन्ने कुराको आचार संहिता बन्नुपर्ने धारणा राखे ।

“के बोल्ने भनेर मैले सोधेर जाने ? केही पनि बोल्न नपाउने ? कि आचारसंहिता बन्नुपर्यो, विदेशमा केही पनि नबोल्ने ? अरुले भनेजस्तो शिर निहुरेको हैन, मैले बरु नेपालको शिर ठाडो पारेको छु,”–उनले भने ।

प्रधानमन्त्री देउवाले समग्रमा आफ्नो राजकीय भ्रमणका अवसरमा भएको उच्चस्तरीय भेटघाटबाट दुई देशका वीच विश्वासको अभिवृद्धि गर्न मद्दत पुगेको बताए ।

नेपालको सामाजिक आर्थिक विकासका लागि उर्जा, व्यापार, कनेक्टिभिटी, पर्यटनजस्ता महत्वपूर्ण क्षेत्रहरुमा सहयोग अभिबृद्धि हुनुका साथै विगतमा सहमतिमा पुगिएका ठूला आयोजनाहरुको शीघ्र एवं प्रभावकारी कार्यान्वयनका लागि सकारात्मक वातावरण बनेको उनको भनाई थियो ।

प्रधानमन्त्री देउवाले भ्रमणको मूख्य प्राथमिकता नेपाल र भारतबीचको विश्वासको आधारशिलालाई मजबुत बनाउनुका साथै विश्वास र समझदारीमा आधारित सम्बन्धलाई दुई देश र जनताको हितमा हुनेगरी अझ फराकिलो र गहिरो बनाउँदै लैजाने दिशामा सहकार्यका लागि थप पहल गर्ने उद्देश्य राखिएको बताए ।

भ्रमणका क्रममा बाढी तथा डुबानको समस्याको शीघ्र समाधान गर्न आफूले भारत सरकारसँग गम्भीरतापूर्वक कुरा राखेको स्पष्ट गर्दै प्रधानमन्त्री देउवाले सिमा क्षेत्रमा हुने बाढी तथा डुबान समस्याको दीर्घकालीन समाधानको दिशामा विज्ञहरुको समूहले संयुक्त निरीक्षण गरी तत्काल उपयुक्त उपाय अपनाउने सहमति भएको बताए ।

बाढी डुबानका विषयमा भारतको बिहार राज्यका मुख्यमन्त्रीसँग पनि कुरा राखेको उनको भनाई थियो ।

 

साथै, प्रधानमन्त्री देउवाको भ्रमणकाबेला आवास, शिक्षा, स्वास्थ्य तथा साँस्कृतिक सम्पदाको पुनर्निर्माणमा भारतले प्रदान गर्ने अनुदान उपयोग गर्ने, नेपाल र भारतका गुणस्तरसम्बन्धि निकायका बीच एकअर्काको मानकलाई मान्यता दिने, लागु औषधको माग न्यूनिकरण तथा अबैध ओसार पसार नियन्त्रण गर्ने, मेची पुलको निर्माण गर्ने तथा नेपाल र भारतका चार्टर्ड एकाउन्टेन्ट् संस्थाहरुका बीच सहयोग आदानप्रदान गर्ने सम्बन्धी आठवटा समझदारीहरु आदान प्रदान भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

क्षेत्रीय सहयोगलाई थप प्रबद्र्घन गर्नका निमित्त सार्क र बिम्स्टेकलाई प्रभावकारी तुल्याउने सम्बन्धमा समेत समझदारी भएको प्रधानमन्त्री देउवाले उल्लेख गरे ।

त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीको स्वागतार्थ सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार तथा गोपालमान श्रेष्ठ, सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतलगायत मन्त्रीगण तथा उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो । सिवी अधिकारी/रासस