काठमाडौँ– नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेन्द्रबहादुर पाण्डेले निर्धारित समयसीमाभित्र प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


पार्टी निकट युवा सङ्घ नेपालको काठमाडौँमा सुरु भएको भेलाको आज उद्घाटन गर्दै उनले संविधान पूर्णरुपमा कार्यान्वयन गर्न अब बाँकी रहेका प्रदेश नं २ को स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए।


ADVERTISEMENT

# # #


युवा संघका इन्चार्ज समेत रहनुभएका नेता पाण्डेले अहिले पार्टीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिबाट चौतर्फी घेराबन्दी भइरहेको भएपनि जनताको विश्वासका कारण चुनावमा अग्रस्थान प्राप्त गर्न सकिएको बताउँदै अबका युवालाई व्यावसायिक बनाउन उनीहरुलाई उत्पादनसँग जोडनुपर्ने बताए ।

संघका अध्यक्ष राजीव पहारीले आगामी असोजमा गर्न लागिएको नवौँ महाधिवेशनका सन्दर्भमा देशभर संगठनको अवस्था तथा स्थानीय क्षेत्रमा भएका सामाजिक गतिविधिमा संस्थाको भूमिकाबारे उक्त कार्यक्रममा छलफल गर्न लागिएको जानकारी दिए ।

सोमबारसम्म जारी रहने उक्त कार्यक्रममा संघका उपाध्यक्ष दीलुकुमारी पन्तले मुलुकमा नयाँ संरचनाअनुसार विकास गरिएका सातै प्रदेशका इन्चार्जले सम्बन्धित क्षेत्रमा समग्र संगठनको अवस्थाकाबारे जानकारी गराएपछि भावी रणनीति निर्माण गर्न सो कार्यक्रम उपयोगी हुने बताए ।

उक्त छलफलमा सहभागीले दिने सुझावका आधारमा प्रदेशमा अब बन्ने कमिटीको रुपरेखा तथा पदाधिकारीको छनोटका आधार र मापदण्ड तय गरिनेछ । रासस