काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले कोरोना सङ्क्रमणविरुद्धको लडाइँमा सबै एकजुट हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको आजको बैठकमा उनले कोरोनाको चुनौतीलाई सामना गरिरहेको अवस्थामा बजेट अधिवेशन प्रारम्भ भएको बताउँदै कोरोनाविरुद्धको लडाइँमा सबैलाई एकजुट हुन आग्रह गरे ।


ADVERTISEMENT

# # #


नेता नेम्वाङले कोरोना रोकथामका लागि लकडाउन आवश्यकता एवं बाध्यता भएको र यो प्रभावकारी ढङ्गले कार्यान्वयन भएका कारण कोरोनाको सङ्क्रमणले नेपालमा भयावह रुप लिन नपाएको बताए । सबै एकजुट भएका कारण यो परिणाम आएको बताउँदै उनले आफ्नो दलका तर्फबाट सरकारलाई स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागका रहेर काम गर्ने सबैलाई धन्यवाद दिए।

कोरानाले धेरै क्षेत्रमा प्रभाव पारेको उल्लेख गर्दै उनले विदेशमा रहेका र हाल अप्ठ्यारामा परेका नेपालीको समस्या सम्बोधन गर्न सरकारको ध्यान गएको र चाँडै यथोचित काम हुने जानकारी गराए ।

उनले केही दिनअघि सांसद् अपहरण भएको भनिएको घटना उचित नभएको बताउँदै त्यसबारे यथार्थ के हो भन्नेबारेमा बुझ्नु जरुरी रहेको धारणा व्यक्त गरे। नेता नेम्वाङले आफूहरु कुनै पनि आपराधिक क्रियाकलापको पक्षमा नरहेको स्पष्ट पारे । रासस