फलेवास, पर्वत– केही दिनयता जिल्ला अस्पताल पर्वतमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ ।


ADVERTISEMENT


अहिले जिल्ला अस्पताल पर्वतमा दैनिक १२० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा विगत दुई सातादेखि अस्पताल आउने बिरामीको संख्यामा तेब्बरले वृद्धि भएको छ ।


ADVERTISEMENT

# # #


अस्पताल आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका छन् । स्वास्थ्य कार्यालयअनुसार भाइरल ज्वरोको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको छ । बालबालिकासँगै एकै घरबाट चार पाँच जना बिरामी उपचारका लागि अस्पताल आउने गरेको जिल्ला अस्पताल पर्वतका प्रमुख डा वुद्धिबहादुर थापाले जानकारी दिए । वृद्धवृद्धामा समेत यसको संक्रमण देखिएको छ ।

दूषित पानी र प्रदूषित हावाहुरीका कारण भाइरल ज्वरोको प्रकोप बढेको हुनसक्ने अस्पतालका डा थापाले जानकारी दिए। यसबाट बच्न दूषित खानेपानी प्रयोग नगर्न र कुनै कारणवस संक्रमण देखिएमा तत्काल उपचारको विधि अपनाउन डा थापाको सुझाव छ ।

१५ श्ययाको क्षमता रहेको अस्पतालमा अहिले वैकल्पिक श्ययाको व्यवस्था गरेर बिरामी भर्ना गरिएको छ । गाउँ÷गाउँमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको जानकारी आएपछि प्रत्येक स्वास्थ्य चौकीमा पर्याप्त औषधि र स्वास्थ्यकर्मीलाई चौबिसै घण्टा खटिन निर्देशन दिइको छ ।

जिल्लाका अन्य निजी स्वास्थ्य क्लिनिकमासमेत भाइरल ज्वरोका बिरामीको संख्या बढेको जनाएको छ ।