काठमाडौँ – यस वर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर नेपाल प्रवेश गरिरहेकाले काठमाडौँलगायत देशका अधिकांश भूभागमा अघिल्ला वर्षभन्दा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


काठमाडौँ उपत्यकामा अप्रिल महिनामा सरदर ६१ मिलिमिटर वर्षा हुनुपर्नेमा यस वर्ष ९२ मिलीमिटर वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताइन् । आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएको जस्तो लागे पनि यस वर्षाको प्रकृति भिन्न छ । सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हुने गर्छ । यस वर्ष मनसुनको समयमा पनि औसत वर्षा हुने मौसमविद्को अनुमान रहेको छ ।


ADVERTISEMENT

# # #


प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ । अहिले प्रिमनसुनका साथै अन्य प्रणालीको प्रभाव रहेकाले देशको अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो । विगत केही दिनदेखि देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले मौसममा सुधार हुन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो देशको अधिकांश भूभाग सामान्य बदली रही पहाडी भूभागका केही स्थान र तराई एक दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । भोलि देशको अधिकांश भूभागमा सामान्य बदली रही पूर्वी भूभागका केही स्थान र पश्चिमी तथा मध्य भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार देशको पूर्वी र मध्यलगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रही पूर्वी भूभागको केही स्थानमा पश्चिमी तथा मध्य भूभागमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २३ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६ दशमलव ९ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव २ डिग्री सेल्सियस रहेको छ । रासस