काठमाडौँ – प्रतिनिधिसभा बैठकमा सांसदहरुले आगामी बजेटमा कृषि विकास, कोरोना नियन्त्रण र रोजगारीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।


ADVERTISEMENT


आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफलमा भाग लिँदै उनीहरुले कोरोनाका कारण विदेशबाट ठूलो जनशक्ति स्वदेश फर्किने सम्भावना रहेको भन्दै कृषिमा अनुदान र आधुनिकीकरणका लागि बजेटमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।


ADVERTISEMENT

# # #


सांसद विरोध खतिवडाले कारोनाको महामारी नियन्त्रणका साथै गाँजा खेती प्रवद्र्धनका कार्यक्रमसमेत आगामी बजेटमा समेट्न सुझाव दिए । सांसद लालबाबु पण्डितले कोरोना नियन्त्रण, रोजगारी सिर्जना, कृषि र स्वदेशी उत्पादनलाई प्रवर्द्धन  गर्नेमा बजेट केन्द्रित हुनुपर्ने उल्लेख गरे। सांसद रामबहादुर विष्टले कृषि विकास, कोरोना नियन्त्रण र रोजगारीलाई केन्द्रमा राखेर समानुपातिक र समावेशी ढङ्गबाट बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।

सांसद खेम लोहनीले निजी क्षेत्रसँग सहकार्य, स्थानीय तहको परिचालनलगायत लोक कल्याणकारी राज्यको अवधारणासहित आएको बजेटको सिद्धान्त र प्राथमिकताले मात्र मुलुकको भविष्य उज्वल हुने धारणा व्यक्त गरे । सांसद सुजाता परियारले बजेटले आवश्यक प्राथमिकता निर्धारण गर्न नसकेको जनाउँदै उद्यमशीलता बढाएर युवालाई विदेश जानबाट रोक्ने कार्यक्रम ल्याउन सुझाव दिए ।

बैठकमा प्रेम सुवाल, पवित्रा निरौला (खरेल), सुजिता शाक्यलगायतले आगामी बजेट कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्ने गरी कार्यक्रम ल्याउन सुझाव दिएका थिए । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफल सम्पन्न भएपछि भोलि अर्थमन्त्री डा. युवराज खतिवडाले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ३१ गते दिउँसो १ बजे बस्नेछ ।