काठमाडौँ – दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापाको नेतृत्वमा बुधबार बीओपी स्थापना गरिएको हो ।


ADVERTISEMENT


भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि नेपालको सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्रले दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा आफ्नो उपस्थिति जनाएको हो । बीओपीस्थापनाका लागि सशस्त्रको टोली नेपाली सेनाको हेलिकोप्टरमार्फ त्यहाँ प्रस्थान गरेको थियो ।


ADVERTISEMENT

# # #


केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो । सीमारक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको टोली पठाएको हो ।

सीमा निगरानी चौकीमा प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटाएको छ । सरकारले गत मङ्सिरमा नै यहाँ बिओपी राख्ने निर्णय गरेको भएपनि अहिलेसम्म स्थापना हुनसकेको थिएन ।

तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो । मङ्सिरमा सरकारले ११४ बिओपी स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिए ।