बझाङ – बझाङको सुर्मा गाउँपालिकाले यार्सा सङ्कलनमा रोक लगाएपछि स्थानीय बासिन्दा वर्षौँदेखि बाँझो रहेको जमिन खनेर अन्न तथा तरकारी लगाउन थालेका छन् ।


ADVERTISEMENT


यो सिजनमा यार्सा टिप्न लेकतिर जाने यहाँका स्थानीयवासीले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी यार्सा टिप्न रोक लगाएपछि बाँझो राखिएका जमिन खनजोत गरेर अन्नबालीका साथै तरकारी लगाउन थालेका हुन् ।


ADVERTISEMENT

# # #


जिल्लाको हिमाली क्षेत्रमा यार्सा सङ्कलन गर्न लागेको झण्डै दुई दशक भयो । यार्सा सङ्कलनबाट मनग्य आम्दानी हुने भएपछि स्थानीयवासीले पाखो जमिनमा अन्न तथा तरकारी लगाउन छाडेका थिए । सुर्मा गाउँपालिकाका वडा नं ३ का स्थानीय ५५ वर्षीय तिख्या बोहराले भने, “यहाँका स्थानीयवासीका पैसा कमाउने माध्यम भनेको यार्सा नै हो । अहिले देशमा यस्तो सङ्कट भएकाले यार्सा टिप्न गाउँपालिकाले रोक लगाएपछि आफूहरुले लामो समयदेखि बाँझो जमिन खनजोत गर्ने थालेको बोहराले बताए ।

गाउँपालिकाका सबै वडाका स्थानीय बासिन्दा यतिखेर कृषि कार्यमा व्यस्त भएका छन् । वैशाखको पहिलो सातादेखि स्कूले विद्यार्थीदेखि सबै यार्सा टिप्न लेकतिर जाने गर्दथे । अहिले कृषि कार्यमा सबै बाँझो जमिन खनजोत गरेर कसैले आलु, कोदो, सिमी तथा फलफूल रोप्न जुटेका छन् ।

सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले भने, “सरकारले लकडाउनको घोषणा गरेकाले गाउँपालिकाभित्र पनि यार्सा सङ्कलन गर्दा भीडभाड हुने भएकाले यार्सा सङ्कलन कार्य बन्द गरिएको छ । त्यसैगरी जिल्लाका अन्य गाउँपालिकाका स्थानीयवासी पनि पुरानो जमिन खनजोत गर्न जुटेका छन् ।” रासस