काठमाडौं – काभ्रेस्थित धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिलाको घटना नेपाल प्रहरीका लागि मात्रै होईन नेपाल सरकारकै लागि पहिलो र नौलो थियो ।


ADVERTISEMENT


विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले ज्यान लिएको नेपालको यो पहिलो घटना थियो । गत बिहीबार साँझ निधन भएकी उनको शनिबार मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना रिपोर्ट पोजेटिभ आएसँगै शव व्यवस्थापन कार्य नेपालका लागि बिल्कुल नौलो तथा चुनौतिपूर्ण थियो । तर, पनि काभ्रे प्रहरीले संक्रमित महिलाको शवको सहज व्यवस्थापन गर्‍यो । जसको नेतृत्वकर्ता हुन् काभ्रे जिल्ला प्रहरी प्रमुख एसपी रवि पौडेल ।


ADVERTISEMENT

# # #


घटनाबारे खबर पाउने बित्तिकै एसपी पौडेल र उनको टिम यसको व्यवस्थापन तर्फ खटिए । कोरोना भाईरसका कारण मृत्यु भएकाले शवको अन्त्यष्टी जोखिमपूर्ण र जटिल मानिएको थियो । एसपी पौडेल हिमालय पोष्टसँग भन्छन् ‘जोखिम र संक्रमण रहित ढंगले शवको अन्त्यष्टीका लागि ठाउँको खोजी गर्ने क्रममा मैले काठमाडौं पशुपतिनाथ घाटमा रहेको विद्धुतीय शवदाह गृह उपयुक्त ठानेँ ।’

काभ्रेबाट नजिकसमेत हुने हुँदा सो स्थानको अनुमतिका लागि एसपी पौडेलले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेललाई सम्पर्क गरे । डीआजी पोखरेलले समेत काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहाल र पशुपति विकास कोषका सदस्य सचिव घनश्याम खतिवडासँग कुरा गरेर तत्कालै एसपी पौडेललाई फोन गर्दै समन्वय गर्न निर्देशन दिए । एसपी पौडेलले पनि तत्कालै सीडीओ दाहाल र सदस्य सचिव खतिवडासँग कुरा गर्दै व्यवस्थित र संक्रमणरहित तरिकाले अन्त्यष्टी हुने कुरामा विश्वस्त तुल्याउँदै दाहसंस्कार स्थानको टुंगो लगाए ।

अब व्यवस्थापन गर्नुपर्ने थियो शव वाहनको । एसपी पौडेलका अनुसार सुरूमा काभ्रेभित्रकै सवारीलाई प्रयोग गर्ने भन्दै खोजी गरिए पनि तत्काल नभेटिएपछि भक्तपुरबाट शव वाहन झिकाईयो । ‘भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र प्रहरी प्रमुख सविन प्रधानले शव वाहनका लागि सहयोग गर्नुभयो’ एसपी पौडेलले भने ‘यस्तो नौलो घटनाको व्यवस्थापन गर्ने कुरा हाम्रा लागि समेत सिकाई हुनसक्छ भन्दै उहाँहरू समेत धुलिखेल अस्पताल आउनुभएको थियो ।’

शव बाहन आएपछि चुनौति थियो – शवलाई कसले गाडीमा अनि शवदाह गृहमा हाल्ने ? ‘शव वाहनको गाडीसँगै म, काभ्रेका सीडीओ श्रवणकुमार तिमिल्सिनाज्यू लगायत जिल्ला सुरक्षा समिति काभ्रेको सिंगो टिम अस्पतालतिर लाग्यौं ।’ जिल्ला प्रहरी प्रमुख पौडेलले भने, ‘जुनसुकै जिम्मेवारी पनि बहन गर्न तयार रहनु पर्छ भन्ने ठानेर मेरो गाडीमा एउटा व्यक्तिगत सुरक्षा कवच (पीपीई) समेत राखेको थिएँ, के होला भन्ने नसोची आईपरे शवलाई गाडीमा आफै हाल्ने तयारीका साथ म अस्पताल पुगेको थिएँ ।’

धुलिखेल अस्पताल पुगेपछि त्यहाँ भुईंमा देखिएको बिरामीको रगत अनि र्‍याल सफा गर्न लगाएको उनी बताउँछन् । अस्पतालबाट सुरक्षित साथ शवलाई उठाउने प्रबन्धमा उनी जुटे । ‘लास उठाउन मृतकका श्रीमान् र अस्पतालका एक स्वास्थ्यकर्मी, शव बाहनसँगै आएका साथीहरू तयार भए’ एसपी पौडेलले भने, ‘सहयोग गरेकामा उहाँहरूलाई पनि धन्यवाद ।’ उनका अनुसार धुलिखेलबाट काठमाडौं शव लाने क्रममा अगाडि प्रहरीको गाडी र पछाडी नेपाली सेनाको गाडीले शव बोकेको गाडीलाई स्कर्टिङ गरेको थियो ।

शवलाई विद्धुतीय शवदाह गृहमा पुर्‍याएर संक्रमणरहित ढंगले सुरक्षित साथ अन्त्यष्टी गर्नका लागि गरिएको प्रयासलाई आफ्नो ठूलो धर्म ठान्छन् एसपी पौडेल ।

दुःखको घडीमा थप संकट आई नपरोस् भन्नका लागि सुरक्षित र संक्रमणरहित तरिकाले शवको व्यवस्थापनमा जुटेर जिम्मेवारी पूरा गरेको उनले बताए । ‘यो मेरा लागि एउटा कर्तव्यसँगै ठूलो धर्मको कुरा थियो, यस काममा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ।’ एसपी पौडेलले भने, ‘मृत आत्माले शान्ति पाओस्, परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान होस्, नेपालमा यस्ता घटनाहरू नदोहोरिउन् ।’