काठमाडौँ, फागुन २३ ।  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावलाई लिएर प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी   (आरआर) क्याम्पसमा विद्यार्थी संगठनहरुले नाराबाजी गरिरहेका छन्।


ADVERTISEMENT


एमालेसम्वद्ध अखिलले स्ववियु चुनाव गर्न माग गर्दै नाराबाजी गरिरहेको छ भने माओवादीसम्वद्ध क्रान्तिकारीले त्यसको विपक्षमा नारा लगाइरहेको छ ।


ADVERTISEMENT

# # #


१८ गते हुन नसकेको स्ववियु चुनाव आज सोमबारका लागि तय भएको थियो । तर, नेपाली कांग्रेससम्वद्ध नेविसंघले उम्मेदवारी नै दर्ता गरेको छैन ।

विहान ८ बजेबाट मतदान हुने भनिएको थियो । पछि १० बजे हुने भनिएपनि अहिले सम्म मतादान प्रक्रिया अगाडि बढ्न सकिरहेको छैन । मतदान लगभग स्थगित भइसकेको छ ।

क्याम्पस प्रशासनले एमालेनिकट अनेरास्ववियुसँग मिलेर निर्वाचन तालिका बनाएको भन्दै कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र माओवादी प्रचण्डनिकट अनेरास्ववियु(क्रान्तिकारी)ले निर्वाचन स्थागित गर्नुपर्ने माग राखेपछि आरआर क्याम्पसमा विवाद भएको छ ।

क्याम्पसमा अप्रिय घटना नघटोस् भनेर व्यापक मात्रामा जनपथ प्रहरी र सशस्त्र प्रहरी वल परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ । क्याम्पसमा प्राध्यापक, कर्मचारी, विद्यार्थी कसैलाई पनि प्रहरीले भित्र छिर्न दिएको छैन ।

यता निर्वाचन आयोगले जारी गरेकोआचारसंहिता विपरित स्ववियु चुनाव गर्न लागेको भन्दै आर.आर.क्याम्पसलाई आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गर्नका लागि जिल्ला प्रशासन कार्यालयले आइतवार नै पत्र पठाएको थियो ।

निर्वाचन आचारसंहिता र स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न/गराउनका लागि निर्वाचन आयोगले ‘विश्व विद्यालय, विद्यालय व्यवस्थापन समिति, नेपाल सरकारको स्वमित्वमा रहेको पेशगत संघसंगठनहरुको पूर्व निर्धारित कार्यतालिका बाहेका कार्य नगर्न/नगराउन नेपाल सरकारलाई निर्देशन दिने’ नीतिगत निर्णय गरेपछि  क्याम्पसको स्ववियु चुनाव प्रभावित भएको हो ।

स्ववियु निर्वाचनकै विषयलाई लिएर आरआर क्याम्पसमा यसअघि दुई पटक झडप भइसकेको छ ।