काठमाडौँ – पोखरा विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक सङ्घले लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रार यथाशीघ्र नियुक्त गर्न माग गरेको छ ।


ADVERTISEMENT


सङ्घले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय लामो समयदेखि नेतृत्वविहीन बनेको भन्दै विश्वविद्यालयमा शैक्षिक एवं प्रशासनिक गतिविधि ठप्प भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्घका अध्यक्ष सञ्जीव थापाद्वारा आज यहाँ हस्ताक्षरित विज्ञप्तिमा देशकै दोस्रो ठूलो विश्वविद्यालय नेतृत्वविहीन बनिरहँदा झण्डै ३० हजार विद्यार्थीको भविष्य अन्योलमा परेको भनिएको छ ।


ADVERTISEMENT

# # #


कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले बन्दाबन्दी गरेदेखि नै विश्वविद्यालयका अध्ययन–अध्यापन, अनुसन्धान, परीक्षा सञ्चालन, परीक्षाफल प्रकाशनलगायत अन्य प्रशासनिक कार्य पूर्णरूपमा ठप्प हुन पुगेकोप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

रिक्त पदमा योग्य र सक्षम व्यक्ति नियुक्ति गर्नसमेत माग गर्दै विज्ञप्तिमा पदपूर्ति गर्न विभिन्न बहानामा थप ढिलाइ नगर्न र हजारौँ विद्यार्थीको भविष्य अन्योलमा नपार्न आग्रह गरिएको छ । विज्ञप्तिमा विश्वव्यापी कोरोना महामारीका बेला कत्ति विचलित नभई सुरक्षाका विधि अपनाउँदै सुरक्षित रहन सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई आग्रहसमेत गरिएको छ ।

पोखरा विश्वविद्यालयमा विगत आठ महिनादेखि उपकुलपति र रजिष्ट्रार पद रिक्त छन् भने २०७७ वैशाखदेखि परीक्षा नियन्त्रक, विभिन्न सङ्कायका डीन र विभिन्न केन्द्रका कार्यकारी निर्देशकको पद रिक्त भएको छ ।

सञ्चारकर्मीलाई सुरक्षा सामग्री वितरण

नेपाल प्रेस युनियन कास्कीले पोखरामा विभिन्न सञ्चारमाध्यममा क्रियाशील सञ्चारकर्मीलाई सुरक्षा सामग्री सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि जारी बन्दाबन्दीका बाबजुद समाचार सङ्कलनमा खटिएका ३० जनाभन्दा बढी सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको युनियनका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार सञ्चारकर्मीलाई मास्क, सेनिटाइजर र पञ्जाजस्ता सुरक्षा सामग्री प्रदान गरिएको छ ।

युनियनको पहल एवं विभिन्न सहयोगी व्यक्ति तथा संस्थाको सहयोगमा सञ्चारकर्मीलाई पहिलो र दोस्रो चरण गरी सुरक्षा सामग्री वितरण गरिएको युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।

उनका अनुसार दोस्रो चरणमा वितरीत सुरक्षा सामग्री पोखरा महेन्द्रपुलस्थित पाथिभरा सर्जिकल सप्लायर्सकी प्रोप्राइटर विद्या अधिकारीले प्रदान गरेका हुन् ।

अहिले प्रत्येक सञ्चारकर्मीले आफू सुरक्षित भई जनतालाई सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने दायित्व रहेको र यस अवस्थामा सञ्चारकर्मीले भोग्नुपरेको पीडा तथा दुःखमा युनियन सधैँ साथमा रहेको उनले विश्वास व्यक्त गरे । रासस