झापा, भद्रपुर । झापाको भारतीय सीमाबाट उद्धार गरी ल्याइएका नेपालीमा कोभिड-१९ को सङ्क्रमण देखिएपनि सरकारी निकायले होसियारीपूर्वक व्यवस्थापकीय कार्य गरेकाले उनीहरुबाट समुदायमा सङ्क्रमण फैलिन पाएको छैन। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला सहितको टिमले सक्रियता र सजगता अपनाउदा केचनाकवलमा संक्रमण फैलन पाएको छैन् ।


ADVERTISEMENT


कोइरालाले सीमाबाट उद्धार गरिएका ३३ जनामा कोरोना सङ्क्रमण भएको पाइए पनि उनीहरुलाई उद्धार गर्दा र क्वारेन्टिनमा पुर्‍याउँदा अत्यन्त सजगता अपनाइएको बताए। सीमामा आइपुगेकालाई तत्काल उद्धार गर्‍यौँ, प्रहरी उपरीक्षक कोइराला भन्छन्‌, “व्यवस्थित क्वारेन्टिनमा राख्यौँ, त्यहीकारण उहाँहरुको सम्पर्कबाट समुदाय जोगियो”। झापामा भारतबाट आएका सङ्क्रमितबाट समुदायको एक जनामा पनि कोरोना नफैलिएको उनले बताए।


ADVERTISEMENT

# # #


रेल यातायात सञ्चालन भएपछि भारतको विभिन्न शहरका नेपाली स्वदेश फर्कने क्रम तीव्र छ। झापाको सीमा क्षेत्रसम्म आएपछि नेपाली पक्षबाट सुरक्षित किसिमले उद्धार हुँदै आएको प्रहरी उपरीक्षक कोइरालाले बताए। काँकडभिट्टा नाकाबाट मात्र एक हजार नेपाली भित्रिइसकेका छन्। सीमाबाट भित्रिरहेका नेपालीलाई समुदायमा मिसिन नदिन सीमाको पहिलो पङ्क्तिेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता र रेडक्रसकर्मीले सघाउने गरेका छन्।

बिहीबार मध्यरातमा काँकडभिट्टा नाकाबाट ३०० नेपाली भित्रिएका थिए। उनीहरुलाई मध्यरातमै सीमा क्षेत्रबाट उद्धार गरी यातायातको साधन प्रयोग गरी काँकडभिट्टा माविमा रहेको होल्डिङ सेन्टर, धाइजनस्थित स्वास्थ्य चौकी र इँटाभट्टास्थित आदर्श माविमा रहेको क्वारेन्टिनमा पुर्‍याइएको थियो । भारतबाट आएर झापाको होल्डिङ सेन्टर र क्वारेन्टिनमा बसिरहेका ६६ जिल्लाका बासिन्दा छन्। उनीहरु अधिकांश भारतको कोभिड-१९ को सङ्क्रमण फैलिएको दिल्ली र मुम्बइबाट आएका हुन्। कोभिड-१९ को जाँच नगरी उनीहरुलाई आफ्नो जिल्लामा नपुर्‍याइने जिल्लास्थित कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा अनुगमन समितिका संयोजक सोम पोर्तेलले बताए।