नेपालगञ्ज – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता तथा व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न भएको छ ।
नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको अध्यक्षतामा प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारीसहित ३०० भन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष सिंहले बदलिँदो प्रविधिसँगै कर्मचारीलाई सक्षम बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा डिजिटल कनेक्टिभिटीसम्बन्धी तालिमलाई प्राथमिकता दिइने बताइन् । कर्मचारीको दक्षता र क्षमता अभिवृद्धिले कम्पनीको व्यावसायिक विकासमा समेत सकारात्मक योगदान पुग्ने उनको भनाइ थियो ।
कार्यक्रममा कार्यसम्पादनका आधारमा ‘बेस्ट इम्प्लोई अवार्ड–२०८३’ प्राप्त गर्ने शिवेश ठाकुर, गीता कुमारी थिङ, रुक्मणी कुमारी शर्मा, अनिल श्रेष्ठ, सुवासमणि पोखरेल, प्रमिला मल्ल र विष्णुजंग शाहीलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले ग्राहकलाई सरल, छिटो र सम्मानजनक सेवा प्रदान गर्नुपर्नेमा जोड दिँदै संस्थाका नीति तथा नियमको पालना र कामप्रतिको जवाफदेहितालाई संस्थागत संस्कारका रूपमा विकास गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बीमाको माध्यमबाट हुनसक्ने सम्पत्ति शुद्धीकरणप्रति सचेत रहन कर्मचारीलाई आग्रह गरे । प्रशिक्षक विश्वराज पौडेलले एआईको प्रयोगसम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिइएको थियो भने संजोग कोइरालाले कर्मचारीको व्यवहार तथा आचरणले संस्थाको पहिचान निर्माणमा खेल्ने भूमिकाबारे प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा कर्मचारीको सिर्जनात्मकता, नेतृत्व क्षमता, सहकार्य र कार्यसम्पादन अभिवृद्धिका लागि नाटक, प्यानल डिस्कसन, परीक्षा तथा विभिन्न खेलकुद प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । सातै प्रदेशबाट सहभागी कर्मचारीबीच फुटसल, टेबल टेनिस र टग अफ वारलगायतका प्रतियोगिता आयोजना गरिएको थियो ।
कार्यक्रमको अन्तिम दिन कर्मचारीलाई रिफ्रेसमेन्टका लागि कर्णाली चिसापानी भ्रमणसमेत गराइएको कम्पनीले जनाएको छ । चारदिने कार्यक्रमले कर्मचारीको प्राविधिक ज्ञान, व्यावसायिक दक्षता, नेतृत्व क्षमता, व्यवहार तथा संस्थागत कार्यसंस्कृति विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।


