काठमाडौँ – अछाम जिल्लामा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । अछामको मेल्लेख गाउँपालिकाका एक ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनी हाल अछाम अस्पतालमा रहेका छन् ।


ADVERTISEMENT

# # #


४३ जिल्लामा फैलियो कोरोना

यससँगै कोरोना देशका सातवटै प्रदेशका ४३ जिल्लामा फैलिएको छ । अछाममा एकजना देखिएसँगै देशका ७७ मध्ये ४३ जिल्लामा कोरोना फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रादेशिक विवरण अनुसार प्रदेश नं. ५ मा सबैभन्दा बढी संक्रमित रहेका छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम संक्रमित छन् ।

प्रदेश नं. १ का ७ जिल्लामा संक्रमण फैलिँदा ८६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश नं. २ का सबै (८ वटै) जिल्लाका २३५ जना (एकको मृत्यु), बाग्मती प्रदेशका ११ जिल्लामा ३८ जना (एकको मृत्यु), गण्डकी प्रदेशका ३ जिल्लामा ५ जना, प्रदेश नं. ५ का ७ जिल्लामा २९२ जना (दुईको मृत्यु), कर्णाली प्रदेश २ जिल्लामा ११ जना र सुदूरपश्चिम प्रदेशका ५ जिल्लामा १५ जना संक्रमित रहेका छन् ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ७ जनामा जनामा कोरोना देखिएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । संक्रमितमध्ये ५२४ पुरुष र ७९ जना महिला रहेका छन् । जसमध्ये ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा र गुल्मीका ४१ वर्षीय पुरुष र बाराका ७० वर्षीय पुरुष रहेका छन् ।

११२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।