काठमाडौँ – नेपालका लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनले आफ्नो स्थापनाको २९औँ वार्षिकोत्सव आज जुम प्रविधिका माध्यमबाट मनाएको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मुलुकमा बन्दाबन्दी लागू भएकाले सो प्रविधिबाट स्थापना दिवस मनाइएको हो ।


ADVERTISEMENT


नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि रहेको कार्यक्रममा पार्टीका नेता, नेपाल पत्रकार महासङ्घका पदाधिकारी तथा पूर्वअध्यक्ष, प्रेस युनियनका पूर्वअध्यक्ष, पदाधिकारी तथा केन्द्रीय सदस्य, जिल्ला अध्यक्षलगायत गरी करिब २०० जनाको सहभागिता थियो । कार्यक्रममा काँग्रेस प्रवक्ता एवं पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले अहिले कोरोनाको सङ्कटको बेला जनतालाई सुसूचित गर्न सञ्चार क्षेत्रको भूमिका थप बढेको उल्लेख गर्दै त्यसका लागि सर्वप्रथम सञ्चार क्षेत्र र सञ्चारकर्मीलाई सुरक्षित एवं सबल बनाउनु अहिलेको आवश्यकता हो भने ।


ADVERTISEMENT

# # #


काँग्रेसको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समन्वय समितिका संयोजक बहादुरसिहं लामाले सरकारले सञ्चार क्षेत्रलाई नियमनका नाममा नियन्त्रण गर्ने मनसाय राखेको उल्लेख गर्दै त्यसमा प्रमुख प्रतिपक्षी दलका हैसियतमा आफ्नो दलले सदैव खबरदारी गर्दै आएको बताए । नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले वर्तमान सङ्कटको परिस्थितिमा विभिन्न चुनौतीको सामना गरिरहेका श्रमजीवी पत्रकार तथा कामदार कर्मचारीलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले युनियनले स्थापनाकालदेखि नै श्रमजीवी पत्रकारका पक्षमा वकालत गर्दै आएको उल्लेख गर्दै पत्रकारका साझा सवालमा युनियनसँग सहकार्य गरी अघि बढ्ने धारणा व्यक्त गरे । युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले कोरोनाको यस सङ्कटको घडीमा आफ्नो र परिवारकै ज्यान जोखिममा राखेर अग्रभागमा खटिएका सञ्चारकर्मीप्रति सम्मान व्यक्त गर्दै तत्काल सञ्चार क्षेत्र र सञ्चारकर्मीका लागि विशेष राहतको प्याकेज ल्याउन सरकारसँग माग गरे ।

कार्यक्रममा युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव अजयबाबु शिवाकोटी, उपमहासचिव भीष्मराज ओझा, युनियनको संयुक्त अधिराज्य शाखाका अध्यक्ष विपिन निरौला, सुनसरी शाखाका अध्यक्ष पवन अधिकारी, पर्सा शाखाका अध्यक्ष रामनारायण कुर्मीलगायतले कोरोनाको वर्तमान सङ्कटमा सञ्चारप्रतिष्ठान र सञ्चारकर्मीले भोग्नुपरेका चुनौतीका बारेमा अवगत गराउँदै राहतका लागि विभिन्न सुझाव दिएका थिए । कार्यक्रममा सभापति देउवाले प्रेस युनियन सुनसरीको डिजिटल क्यालेण्डर विमोचन गरेका थिए ।

विसं २०४८ जेठ १३ गते आजैका दिन प्रजातान्त्रिक पत्रकारहरुको भेलाले पेशागत प्रत्याभूति र एकताबद्ध तथा सङ्गठित भएर अगाडि बढ्ने दृढ धारणासहितको प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना भएको हो । नेपालका सञ्चारकर्मीलाई सङ्गठित बनाएर श्रमजीवीका पक्षमा वकालत गर्दै आएको प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । युनियनको आठौँ महाधिवेशन पोखरामा विसं २०७१ भदौ २१ र २२ गते सम्पन्न भएयता नवौँ महाधिवेशनका लागि विभिन्न मिति तोकिए पनि विविध कारणवश हालसम्म हुनसकेको छैन । पछिल्लोपटक नवौँ महाधिवेशनका लागि २०७६ चैत २१ र २२ गते नेपालगञ्जमा हुने मिति तोकी आवश्यक तयारी गरे पनि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारण स्थगन गर्नुपरेको युनियनले जनाएको छ । रासस