काठमाडौं – रुपन्देही र रुकुम पश्चिममा भएका हिंसाका घटनामा संलग्‍नलाई कारबाही गर्न एम्‍नेस्टी इन्टरनेसनलले माग गरेको छ । एम्‍नेस्टीले जेठ १० गते रुपन्देही र रुकुममा भएका घटनामा संलग्‍न दोषीमाथि कारबाही गरी पीडित पक्षलाई न्याय दिलाउन माग गरेको हो ।


ADVERTISEMENT


इम्‍नेस्टी इन्टरनेसनलले रुपन्देहीमा कथित उपल्लो जातिका व्यक्तिबाट १२ वर्षीया बालिकालाई बलात्कार भएको घटना सार्वजनिक भएपछि जनप्रतिनिधिको संलग्‍नतामा उनको विवाह बलात्कारी पुरुषसँगै गराइएको विज्ञप्तिमा जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती बालिकाको बलात्कारपछि हत्या गरिएको र शव रुखमा झुन्ड्याइएको देखिएको छ ।


ADVERTISEMENT

# # #


विज्ञप्तिमा पश्चिम रुकुममा भएको हिंसात्मक घटनामा संलग्‍न दोषीमाथि कारबाही गर्न पनि माग गरिएको छ ।रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा प्रेमिका लिन गएका नवराज विकलगायत १८ जनाको समूहलाई प्रेमिकाको परिवार तथा वडाअध्यक्षसहितका गाउँलेले लखेट्दै भेरी नदीसम्म पुर्‍याएको घटनामा नवराज लगायत पाँच जनाको ज्यान गएको छ भने एकजना अझै बेपत्ता छन् ।

दुवै दुखान्त घटनाहरूमा स्थानीय सरकारका प्रतिनिधिहरू मुछिएका कारण यी घटनाहरूको स्वतन्त्र र प्रभावकारी अनुसन्धान हुनुपर्ने एम्‍नेस्टीको ठहर छ । ँयी भयानक मृत्युका घटनाहरूले नेपालमा दलित समुदायले सामना गरिरहेको विभेद र हिंसा उजागर गर्दछन् जहाँ कानुन र नीतिहरूलाई पर्याप्त रूपमा कार्यान्वयन गरिएको छैन र प्रभावित समुदायहरूले संरक्षणको अभाव झेलिरहेका छन्,” एम्‍नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपिलयाले विज्ञप्तिमा भनेका छन् ।