काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सातौँ व्यक्तिको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिकाको एक क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना भएको पुष्टि भएसँगै नेपालका कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको हो ।


ADVERTISEMENT


दैलेखको वडा नं ११ कालभैरवको क्वारेन्टिनमा आज बिहान मृत्यु भएका ३५ वर्षीय युवाको आज नै पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बिहीबार उनको स्वाब सङ्कलन गरिएको थियो । यही जेठ ७ गते भारतबाट आएका उनीसहितको टोलीलाई विद्युत् प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको थियो ।

मृतक युवाको शव के गर्ने भन्नेबारेमा जिल्ला प्रशासनसँग सहकार्य भइरहेको नगरप्रमुख भण्डारीले बताए । कर्णाली प्रदेशका कोरोनाबाट मृत्यु हुनेमा उनी पहिलो हुन् । यसअघि नेपालमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा, गुल्मीका ४१ वर्षीय पुरुष, बाराका ७० वर्षीय पुरुष, ललितपुर महानगरपालिका वुङमती–२२ का ५६ वर्षीय पुरुष र अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुषले कोरोनाका कारण ज्यान गुमाएका थिए ।

नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ । आजमात्रै १८९ जना संक्रमित थपिएका छन् भने २१९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।