काठमाडौं –  संविधानमा नेपालको नयाँ नक्सासहितको निशान छाप समावेश गर्ने गरि सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव संसदमा पेश भएको छ ।


ADVERTISEMENT


आइतबार प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले दोस्रो संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् । यसअघि गत बुधबारको कार्यसूचीमा परे पनि सो प्रस्ताव हटेको थियो ।


ADVERTISEMENT

# # #


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार केन्द्रीय समिति बैठकबाट संशोधन प्रस्तावको पक्षमा उभिने निर्णय गरेको थियो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची-३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।

राष्ट्रपति भण्डारीले गत जेठ २ गतेको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्पियाधुरासहितका क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने घोषणा गरेकी थिइन् । त्यसै अनुसार गत जेठ ५ गतेको मन्त्रीपरिषद्को बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको अध्यावधिक नक्सा जारी गरेको थियो ।

यस्तै जेठ ७ गते भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले मन्त्रीपरिषद्को बैठकले जारी गरेबमोजिम नेपालको राजनीतिक/प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेकी थिइन् ।

कानुन अनुसार संविधान संशोधन गर्न संसदमा दुई तिहाई बहुमत चाहिन्छ ।