काठमाडौँ – गयराती बाजुराको स्थानीय क्वारेन्टाइनमा मृत्यु भएकी २ वर्षीय बालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती बालिकाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरे । उनका अनुसार बालिका आफ्ना आमाबाबुसँग ८ दिन अघि भातबाट आएकी थिइन् ।


ADVERTISEMENT

# # #


बालिकालाई ज्वरो, श्वासप्रश्वासमा समस्या र झाडापखाला भएपछि जेठ १५ गते (बिहीबार) बाजुरा अस्पतालमा भर्ना गरिएको थियो । उनको १६ गते स्वाब संकलन गरिएको थियो । तर, रिपोर्ट नआउँदै राती २:३० बजे मृत्यु भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

यस्तै शनिबार (हिजो) दैलेखको दुल्लु नगरपालिकावडा नं ११ कालभैरवको क्वारेन्टिनमा मृत्यु भएका ३५ वर्षीय युवामा पनि कोरोना पुष्टि भएको छ । उनको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनी गत जेठ ७ गते भारतबाट आएका थिए ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । यसअघि नेपालमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा, गुल्मीका ४१ वर्षीय पुरुष, बाराका ७० वर्षीय पुरुष, ललितपुर महानगरपालिका वुङमती–२२ का ५६ वर्षीय पुरुष र अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुषले कोरोनाका कारण ज्यान गुमाएका थिए ।

नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ । आजमात्रै १६६ जना संक्रमित थपिएका छन् भने कुल संक्रमितमध्ये २२० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।