जाजरकोट – जाजरकोट , रुकुम पश्चिम र डोल्पाका सर्वसाधारण थातथलो फर्कने क्रममा हप्तौँ हिँड्नुपरेको छ । केही स्थानीय तहले यातायातको व्यवस्था गरे पनि गाउँसम्म सवारीसाधन नपुग्दा उनीहरु अहिले समस्यामा परेका छन् । भारत तथा देशका ठाउँबाट फर्किएका मजदुर तीन हप्तासम्म हिँडेर आउनुपरेको पीडा सुनाउँछन् ।


ADVERTISEMENT


दिनको चर्को घामले हिँड्न नसकेको हुँदा रातभरि हिँड्न बाध्य भएको जुनिचाँदे गाउँपालिका–४ का दलवीर नेपालीले बताए । उनले भने, “अर्काको भूमिमा मर्नुभन्दा बरु आफ्नै भूमिमा मृत्यु भए आफन्तले त देख्लान् ? दिनरात गरेर हिँडिरहेका छौँ ।”


ADVERTISEMENT

# # #


गाउँमा गएर हामी क्वारेन्टिनमै बस्ने भन्दै अर्का गोर्खे नेपालीले भने, “केही व्यक्तिले बदमासी गरे भन्दैमा हामीलाई पनि सोहीरुपमा हेर्नु भएन । हामीलाई पनि आफू बाँच्ने र अरुलाई बचाउने विवेक छ ।” अर्काको भूमिका छिछी र दुर्दर गर्दै कति दिन बस्ने ? रामबहादुर रावतले भने । उनले आँखाबाट आँसु खसाल्दै भने, “कसलाई रहर हुन्छ आधा महिना हिँडेर आउन ? आफैँ भन्नुहोस् न हाम्रो शरीर कस्तो भएको छ, हामी कति दिन भोकै हिँडिरहेका छौँ, यो रहर हो ?”

जाजरकोट हुँदै जाने डोल्पा र रुकुम पश्चिमका सर्वसाधारण रात दिन हिँडेर घर पुग्ने योजनाका साथ हिँडेर आएको बताउँछन् । यी तीन जिल्लाका सर्वसाधारणले जीवन जिउने मुख्य आधार नै भारत गएर कमाइ ल्याएको पैसा हो । आफ्नो जमिनमा पर्याप्त उत्पादन नहुने र दुःखअनुसारको फलसमेत हात नपर्दा अर्काको भूमिमा गएर पसिना चुहाएर काम गरी ल्याएको पैसाले घर धान्ने यहाँका सर्वसाधारणको निरन्तरको प्रक्रिया हो ।

स्थानीय सरकारले निर्माण गर्ने सडक तथा अन्य निर्माणको काममा डोजर प्रयोग हुँदा कामविहीन भएको उनीहरुको भनाइ छ । जुनिचाँदे गाउँपालिकामा कोरोना जाँच गरेर फर्कंदै गरेको स्वास्थ्य सेवा कार्यालयका चिकित्सक डा भूपेन्द्रप्रकाश मल्लले भने, “ काम गर्ने तरिका र कार्यशैलीले गर्दा हाम्रा गरिब जनताले यसरी दुःख पाउनुपरेको छ ।” रासस