हिमालयपोष्ट, काठमाडौँ– फिल्म छक्का पञ्जाको व्यापार देखेर हौसिएका दिपक-दीपाले ‘छक्कापञ्जा दुई’का लागि पहिलो गीत रिलिज गरे । ‘हिलो लाग्ला नाइलनको साडीमा’ बोलको उक्त गीत ‘पहिलो गाँस मै ढुङ्गा’ भने झैँ विवादमा मुछियो । उक्त गीतले जति चर्चा पायो त्यो भन्दा बढी आलोचना खेप्नु पर्यो ।


ADVERTISEMENT


यो गीतबाट खास गरी संगीतकार अल्मोडा राना उप्रेती र निर्माता तथा कलाकार दीपकराज गिरी विवादमा तानिए । गीतमा वास्तविक स्रष्टाको नभई आफ्नो नाम राखेको भन्दै आलोचना भयो । त्यो विवाद सेलाउँन नपाउँदै छक्कापञ्जा दुई कै ‘म त यता किनारामा’ बोलको गीत रिलिज भयो । तर ‘नाइलनको साडी’मा जस्तै यसमा पनि विवाद आइलागेको छ ।


ADVERTISEMENT

# # #


‘म त यता किनारामा (झ्याम्म झ्याम्म)’ बोलको गीतमा शुदूरपश्चिमको भाका मिसाइएको छ । कलाकार हरिवंश आचार्य र गायिका आस्था राउतको स्वर रहेको उक्त गीतको लय तथा ‘झ्याम्म झ्याम्म’ शब्द देउडा गायक नन्दकृष्ण जोशीको गीतसंग मिलेको भनी यतिबेला आलोचना भइरहेको छ ।

विगत लामो समयदेखि आफ्नै संस्कृति र परम्पराको वर्णन गर्दै देउडा भाकाको माध्यमबाट सुदूरपश्चिमलाई चिनाउँदै आएका गायक नन्दकृष्ण जोशीले २०४५ सालमा नै ‘डोटी राम्रो डडेल्धुरा, अछाम राम्रो साफेँ’ बोलको गीतमा ‘झ्याम्म झ्याम्म’ लय हालेर गाएको गीत ‘झ्याम्म झ्याम्म’ नामक एल्बममा बजारमा आएको थियो ।

उनले गाएको देउडा लयको ‘झ्याम्म झ्याम्म’ गीत सूदूरपश्चिममा मात्र होइन देशैभर चर्चीत छ । युवा पुस्तादेखि वृद्धवृद्धासम्मले यो गीतलाई मन पराएका छन् । र आजपनि गुन्गुनाइरहेका छन् । उनै गायक जोशीले आफुलाई नसोधेर छक्कापञ्जा टिमले गीतमा आफ्नो लय र शब्द राखेकोमा असन्तुष्टि पोखेको छन् । यसबारे कसरी अगाडी बढ्ने भनी आफु सोचिरहेको गायक जोशीले बताएका छन् ।

त्यस्तै गीत रिलिज भएपछि गायक राजेश पायल राईले नाम उल्लेख नगरेपनि व्याङ्ग्यात्मक तरिकाले आफुले गाएको गीतको रिमिक्स बनाएको उल्लेख गरेका छन् । उनले छक्का पञ्जा दुईकोको गीत आफुले गाएको फिल्म ‘देवर बाबुको’ ‘वास्ना मिठो कस्तुरीको’संग मिल्न गएको संकेत गर्दै आफु कपीराईट नमाग्ने बताएका छन् ।

उनले फेसबुक पेज मार्फत भनेका छन् ‘यो गीतको रिमेक भर्सन आयो रे नि त आज…हामी (म र साधना सरगम) ले कपी राइट दाबी गर्दैनौ किन कि हामी ले त गाएको मात्रै हो ,यसका संगीतकार सुरेश अधिकारी र गीतकार एक नारायन भण्डारी र फिल्म ‘देवर बाबु’ टिमले ले फेरी लफडा नगरोस् हेहेहे..’

यसरी फिल्मका दुबै गीतमा विवाद सिर्जना भएपछि सामाजिक सञ्जालमा ‘बक्स अफिसमा फिल्म(छक्का पञ्जा २) ले रेकर्ड तोड्ला/नतोड्ला तर गीत विवादित (चोर्ने) प्रतिस्पर्धामा चाँहि रेकर्ड नै राख्ने भयो ’ भनेर भन्न थालिएको छ ।

गत वर्ष फिल्म पाइरेसी भएको भनेर दिपक राज गिरीले केही युवाका विरुद्ध प्रहरीकहाँ उजुरी दिएपछि एक युवाले ज्यानै गुमाएका थिए । यसपालि भने पहिले उजुरी गर्ने उनै दिपक त्यही मामलामा परेका छन् । यसलाई कसरी सोचिरहेका छन् उनै दिपकराज गिरी जानुन् ।

पुरानो गीतसँग लय मिलेको भनिएको छक्का पञ्जा-२ को अर्को गीत

छक्का पञ्जा दुईको गीतसंग मिल्ने भनिएको गायक राजेश पायल राईले गाएको ‘देवर बाबु’ फिल्मको गीत