न्युजिल्यान्ड –  न्युजिल्यान्ड सोमबारदेखि आधिकारिक रूपमा कोरोना भाइरस (कोभिड–१९) मुक्त भएको छ । प्रधानमन्त्री जसिन्डा आर्डर्नले भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको सबै प्रतिबन्धलाई फुकुवा गर्ने घोषणा गरेकी छन् । कोरोना भाइरसका कारण संक्रमित अन्तिम व्यक्ति अस्पतालबाट डिस्चार्ज भएसँगै आधिकारिक रूपमा न्युजिल्यान्ड कोरोना भाइरसमुक्त भएको हो ।


ADVERTISEMENT


न्युजिल्यान्डमा विगत १७ दिनदेखि कुनै पनि नयाँ संक्रमणसमेत देखिएको छैन । सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रफुल्लित मुद्रामा देखिएकी आर्डर्नले देशमा लगाइएको सबै प्रकारका प्रतिबन्धलाई समेत खुला गरेकी छन् । यद्यपि अन्तर्राष्ट्रिय हवाई यातायातमा लगाइएको प्रतिबन्ध भने तत्काललाई हटाइएको छैन । सोमबारदेखि नै सार्वजनिक तथा व्यक्तिगत कार्यक्रमका साथै सार्वजनिक सवारी र अन्य सबै प्रकारका व्यवसायलाई सामाजिक दूरीबिना नै सामान्य रूपमा सञ्चालन गरिने भएको छ ।


ADVERTISEMENT

# # #


स्थानीय सञ्चारमाध्यमका अनुसार गत फेबु्रअरीको २८ तारिखमा पहिलो संक्रमण देखिएको न्युजिल्यान्डमा यसका कारण २२ जनाले ज्यान गुमाएका थिए भने १ हजार ५ सय ४ संक्रमणको सिकार बनेका थिए । संक्रमितको संख्या १ सय पुग्नेबित्तिकै न्युजिल्यान्डले देशकै उच्च तहको सुरक्षा सतर्कता अपनाउँदै लेभल–४ को प्रतिबन्ध कार्यान्वयन गरेको थियो । पूर्णत: लकडाउन गरी संक्रमण नियन्त्रणका लागि काम गरेको न्युजिल्यान्डले संक्रमण देखिएको करिब ३ महिनाकै अवधिमा संक्रमणलाई नियन्त्रणमा लिन सफल बनेको थियो । सोमबारदेखि यो सुरक्षा सर्तकता लेभल एकमा झारिएको छ जुन भाइरस संक्रमण हुनुअघिको हो ।