विराटनगर – कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले असोज २१ गते जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय भवन, सम्पुर्ण शाखाहरु लगायत हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिइएको छ । आम नागरिकलाई प्रहरी सेवा सहज, सरल, पहुँचयोग्य र प्रभावकारी रूपमा उपलब्ध गराउन विशेष ध्यान दिन तथा नागरिकका समस्या, पीरमर्का र गुनासाहरूको तत्काल सुनुवाइ गर्दै प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन, नियमित प्रहरी गस्ती परिचालन गर्न तथा समुदायसँग निरन्तर समन्वय र सहकार्य गर्दै नागरिकमा सचेतना अभिबृद्धि गर्न निर्देशन दिइएको छ ।
यसै गरी धनकुटाको डाँडा पाखामा आफै उम्रिएका तथा लगाईएका गाँजाको बोटबिरुवाहरु फडानी गरी नष्ट गर्न सक्रियरुपमा प्रहरी परिचालन गर्न साथै लागू औषधको प्रयोग र ओसार पसारलाई निरुत्साहित गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरुले आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी भएर काम गर्न निर्देशन दिए ।
नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन आवश्यकताअनुसार प्रहरी जनशक्ति परिचालन गर्न, मुख्य बजार, बसपार्क, सार्वजनिक स्थल तथा बढी भीडभाड हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढाउन निर्देशन दिइएको छ ।
यसै गरी यात्रुलाई सुरक्षित, सहज र व्यवस्थित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण निर्माण गर्न बसपार्क तथा यात्रुहरुको बढी भिड हुने स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्न, सवारी साधनको नियमित अनुगमन गर्न तथा सम्भावित दुर्घटना र आपराधिक गतिविधि नियन्त्रणका लागि प्रभावकारी सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।


















