काठमाडौँ – सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि गत चैत्र ११ गतेदेखि लागू गरिएको लकडाउनलाई खुकुलो बनाएको छ ।


ADVERTISEMENT


बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । मन्त्री खतिवडाका अनुसार शिक्षण संस्था (पठनपाठन बाहेक), सरकारी, गैरसरकारी र निजी सबै किसिमका कार्यालयहरु खुला गरिएका छन् । जसका लागि दिनमा २ सिफ्ट चलाइनेछ । बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट चल्नेछ । जसले गर्दा भीडभाड नगरी सहज रुपमा काम हुने सरकारको ठम्याई रहेको छ ।


ADVERTISEMENT

# # #


यस्तै सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) यो वर्ष रद्द गरेको छ । संक्रमण जोखिमका कारणले निकट भविष्यमा परीक्षा सञ्चालन गर्न सम्भव नभएको र विद्यार्थीको पढाई र मनोविज्ञानमा प्रतिकुल प्रभाव पर्न सक्ने भएकाले बाध्यतावश शिक्षा ऐन, २०२८ को दफा २० अनुसार परीक्षा स्थगित भएको मन्त्री खतिवडाले जानकारी दिए । उनका अनुसार अब विद्यालयले गरेको आन्तरिक मूल्याङ्कन विवरणलाई जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ समितिले प्रमाणिकरण गरेर राष्ट्रिय परीक्षा बोर्डमा पठाउने छ र बोर्डले त्यही अनुसार प्रमाणपत्र दिनेछ ।

अब निजी सवारीलाई जोर र विजोर प्रणालीका आधारमा एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने गरी खुला गरिएको छ । जसअनुसार मोटरसाइकलमा एक जना अर्थात चालक मात्रै बस्न पाउने छन् भने चार पाङग्रे सवारीमा चालकबाहेक थप २ जना मात्रै बस्न पाइनेछ । यस्तै निजी सेवा प्रदायक कार्यालयका श्रमिक र कर्मचारीलाई ओसारपोसार गर्नका लागि स्वास्थ्य मापदण्ड अपनाएर आवश्यक पर्ने सवारी (बस-मिनीबस)हरु सिटको १ लहरमा १ जनामात्र यात्रु राख्ने गरी सुरु गरिएको छ ।

के-के खुला भए ? (आवश्यक स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने )

१. स्वास्थ्यसम्बन्धी सबै सेवा (निजी क्लिनिकसमेत)
२. सबै प्रकारका कृषि तथा पशुपन्छी व्यवसाय (उत्पादनदेखि बिक्रि वितरण सम्मको सबै श्रृंखला)
३. उद्योग, व्यापार, व्यवसाय, पसल र खाद्यवस्तुका डिपार्टमेन्टल स्टोरहरु (सपिङ मल बाहेक)
४. सबै प्रकारका ढुवानीहरु, व्यक्तिहरुको पैदल आवागमन (मास्क अनिवार्य, भीडभाड नगर्ने)
५. साइकल र मोटरसाइकल (मोटरसाइकलमा चालक मात्रै),
६. जोर विजोर प्रणालीको आधारमा अन्य निजी सवारी साधानहरु सम्बन्धित जिल्लाभित्र मात्रै जान पाइने (काठमाडौँ उपत्यका बाहेक) जसमा चालकबाहेक थप २ जना मात्रै
७. फोहोरमैला व्यवस्थापन, विद्युत्, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाकसम्बन्धी सेवा
८.बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा
९. नर्सरी र वनजन्य उद्यमहरु (सम्बन्धित व्यवसाय समेत)
१०. विकाससम्बन्धि आयोजनाहरु निजीसमेत), नदी तथा खानीजन्य पदार्थको उत्खनन्, संकलन, ढुवानी र बिक्रि वितरण
११. रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा
१२. क्वारेन्टाइनका लागि तोकिएको होटल र बिजुलीका सामान बिक्री तथा मर्मत
१३. सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय (पठनपाठनबाहेक), गैरकारी र निजी क्षेत्रका कार्यालयहरु (यी सबै बिहान ८ देखि दिउँसो १ र दिउसो १ देखि बेलुका ६ बजेसाँ गरी २ सिफ्टमा चलाइनें)
१४. जोर विजोर प्रणालीमा सञ्चालन हुने गरी निजी कार्यालयका श्रमिक र कर्मचारी ओसार पोसारका लागि आवश्यक सवारी (बस) सिटको एक लहरमा १ जना यात्रु मात्र राख्नेगरी

के-के बन्द हुन्छन् ?
१.शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)
२. अनुमति प्राप्तबाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरु
३. तोकिएका बाहेक अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत
४. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, महोत्सव, जात्रा
५.सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थल
६. सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना
७. स्पा, सैलुन र ब्युटी पार्लर स्वीमिङ पुल, जिमखाना लगायतका हेल्थ क्लबहरु, सपिङ मलहरु
८.समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुतीहरु
९. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
१०. यात्रुबाहक सार्वजनिक सवारी साधन (पर्यटकीय सवारी साधनसमेत)
११. काठमाडौँ उपत्यकाको हकमा काठमाडौँ उपत्यका र अन्य जिल्लाहरुमा सोही जिल्लाभित्र मात्र जोरविजोर प्रणालीमा सञ्चालन हुने निजी सवारीसाधान बाहेकका अन्य निजी सवारी साधन