काठमाडौँ – नेपाली सेनाले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारको लागि सरकारद्वारा–सरकार (जीटुजी) प्रकृयामार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणका सम्बन्धमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।


ADVERTISEMENT


बिहीबार एक विज्ञप्ती मार्फत नेपाली सेनाले स्वास्थ्य सामग्री प्रचलित प्रक्रिया र मापदण्ड अनुसार नै खरिद भएको दाबी गर्दै यसमा बना तथ्य आक्षेप लगाउन खोज्नु गम्भीर विषय भएको बताएको छ ।


ADVERTISEMENT

# # #


जारी विज्ञप्तीमा उल्लेख छ, ‘राष्ट्रिय संयन्त्रको एक महत्त्वपूर्ण अंगको रुपमा रहेको नेपाली सेनाबाट प्रचलित प्रक्रिया र मापदण्ड बमोजिम खरिद भएका सामग्रीहरुको मूल्यको तुलनाको आधारमा विना तथ्य, प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु आफैमा अत्यन्त गम्भीर विषय हो ।’

गत चैत्र ६ गतेको मन्त्रीपरिाषद्को बैठकले कोरोना विरुद्ध लड्न सरकारद्वारा–सरकार (जीटुजी) प्रक्रिया अनुसार आवश्यक स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

मन्त्रीपरिषद्को निर्णय अनुसार नै कमिशनरहित रुपमा प्रत्यक्ष कारोवार गर्न तथा अनियमितताका सबै सम्भावनाहरुलाई निरुत्साहित गर्ने रणनीति अनुरुप सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेद २ को नियम १६ अनुसार खरिद इकाई र गुणस्तर निरीक्षण उपसमिति गठन गरिएको जनाएको छ ।

उपसमितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय र आमन्त्रित विज्ञहरु समेत रहेको सेनाले जनाएको छ । पारदर्शिताको लागि चीन सरकारबाटै तोकिएको सरकार नियन्त्रित कम्पनी (चाइना सिनोफर्म इन्टरनेशनल कर्पोसन)बाट प्राप्त सरकारी मूल्यसूचिलाई नेपाल सरकारको समन्वय र स्वीकृत प्राप्त भए पश्चात् मात्रै खरिद गरिएको सेनाको दाबी छ ।

विभिन्न सञ्चारमाध्यमहरुमा नेपाली सेनाले मूल्यभन्दा बढी रकम तिरेर स्वास्थ्य सामग्री खरिद गरेको समाचार प्रकाशित भएका थिए ।