काठमाडौँ – साझा पार्टीले पछिल्ला केही दिनयता देशका विभिन्न ठाउँमा सरकारविरुद्ध सडकमा भइरहेका प्रदर्शन केही दिनका लागि स्थगित गर्न आग्रह गरेको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै साझा पार्टीले सरकारले प्रर्दशनलाई सम्बोधन गर्दै सुधारको लागि गरेको प्रतिवद्धताको स्वागत गर्न आग्रह गरेको हो ।


ADVERTISEMENT


शुक्रबार साँझ एक वक्तव्यमार्फत कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिका संयोजक तथा उपप्रधानमन्‍त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीविरुद्धको योजनालाई थप प्रभावकरी बनाउन सरकार प्रतिवद्ध रहेको जनाएका थिए । सरकारले यही प्रतिवद्धताको स्वागत गर्न साझा पार्टीले प्रदर्शनकारीहरुलाई आग्रह गरेको हो ।


ADVERTISEMENT

# # #


सझा पार्टीले भनेको छ, ‘कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक गर्ने, महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने, पिसिआर टेस्टको दायरा थप बढाउने भनी सरकारले जारी गरेको सार्वजनिक प्रतिबद्धतालाई साझा पार्टी शंकाको सुविधासहित स्वागत गर्दछ ।’

सरकारको सार्वजनिक प्रतिबद्धता र कोरोनाको बढ्दो संक्रमणको पृष्ठभूमीमा हाल जारी प्रदर्शनलाई केही दिनका लागि स्थगित गरेर सरकारले वाचा अनुरूपका काम गरे नगरेको मूल्यांकन गर्न समेत पार्टीले अपील गरेको छ । यस्तै उसले आज प्रतिनिधिसभाबाट लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको नेपालको नयाँ नक्सासहितको निसान छापका लागि संविधान संशोधन गरिने भएकाले यसमा देशवासी एकढिक्का भएको सन्देश दिन पनि आग्रह गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘साझा पार्टी सम्पूर्ण नेपालीहरूलाई नयाँ नक्सा राख्ने गरी निसान छाप संसोधन गर्ने संसदको ऐतिहासिक निर्णयलाई स्वागत गर्दै राष्ट्रियताको सवालमा संसदभित्र र बाहिरका दलसहित सम्पूर्ण देशवासी एक ढिक्का रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न हार्दिक आह्वान गर्दछ ।’

विगतमा कयौँ पटक गरेजस्तै आफ्ना प्रतिवद्धता भुलेर नागरिकको विश्वासमाथि फेरी पनि धोका दिने काम भए प्रदर्शन अझ सशक्त भएर जान सक्ने र त्यसको नतिजा गम्भीर हुनसक्ने भन्दै साझा पार्टी सरकारलाई समेत सचेत गराएको छ ।