काठमाडौँ – सरकारले कोरोना भाइरस (कोभिड–१९) को उपचार, राहत र अन्य व्यवस्थापनका कामका लागि भएको खर्च विवरण सार्वजनिक गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)को शुक्रबार बसेको बैठकको निर्णय अनुसार शनिबार खर्च विवरण सार्वजनिक गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।


ADVERTISEMENT


यसअघि कोरोनाविरुद्ध हालसम्म १० अर्ब खर्च गरिएको भनिएको थियो । तर हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार खर्च भएको सरकारले जनाएको छ । जस अनुसार संघीय संचित कोषबाट स्रोत व्यवस्थावन गरिएको रकममध्येबाट ६ वटा मन्त्रालयले ४ अर्ब १० करोड ५५ लाख ६ हजार रुपैयाँ खर्च गरेका छन् ।


ADVERTISEMENT

# # #


जसमध्ये सबैभन्दा धेरै रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हरा रुपैयाँ खर्च गरेको छ । मन्त्रालयले नेपाली सेनामार्फत चीनबाट स्वास्थ्य सामग्री खरिद गरेको थियो । यस्तै खर्चगर्ने मन्त्रालयमा दोस्रो स्थानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रहेको छ । उसले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार खर्च गरेको छ ।

यस्तै गृहमन्त्रालयले २ करोड ४५ लाख ८८ हजार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ करोड २० लाख, सहरी विकास मन्त्रालयले १ करोड ४२ लाख शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २ करोड ६९ लाख ९४ हजार खर्च गरेका छन् ।

कहाँ कति रकम निकासा भयो ?

संघीय सरकारको रकममध्येबाट सबैभन्दा धेरै औषधि तथा स्वास्थ्य सामग्रीमा रकम निकासा गरिएको छ । जसमा ३ अर्ब ९० करोड ८८ लाख रकम निकासा गरिएको छ ।

यस्तै स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार, क्वारेन्टिनका लागि १३ करोड ५५ लाख र अन्यमा ४० करोड १५ लाख ९ हजार रकम निकासा गरिएको छ ।

प्रदेशको खर्च १ अर्ब ३० करोड बढी

यस्तै प्रदेश सकारहरुले कोरोनाविरुद्ध लड्न १ अर्ब ३० करोड ४ लाख ९९ हजार रुपैयाँ खर्च गरेका छन् । यस्तै स्थानीय तहहरुले २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च गरेका छन् ।

कुन प्रदेशले कति खर्च गरे ?

प्रदेशगत रुपमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशले खर्च गरेको छ भने सबैभन्दा कम प्रदेश ५ ले खर्च गरेको सरकारका प्रेस सल्लाहकारले जारी गरेको विवरणमा उल्लेख छ ।

जसअनुसार सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपैयाँ र कर्णाली प्रदेशले २३ करोड ९२ लाख ८३ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै प्रदेश नं. १ ले १९ करोड ३५ लाख ६० हजार, गण्डकी प्रदेशले १५ करोड ४२ लाख १० हजार, बाग्मती प्रदेशले १३ करोड ६७ लाख, प्रदेश नं. २ ले १३ करोड ३९ लाख ४६ हजार र प्रदेश नं. ५ ले ७ करोड ७९ लाख ३० हजार खर्च गरेका छन् ।

नागरिकहरुले कोरोनाविरुद्ध खर्च भएको १० अर्बको हिसाब सार्वजनिक गर्न माग गर्दै सडकमा प्रदर्शनमा उत्रिरहेका छन्  । त्यसै अनुसार नै सरकारले खर्च विवरण सार्वजनिक गरेको हो ।

यस्तो छ खर्च विवरण :