काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदबाट लिम्पियाधुरासमेटिएको नेपालको नक्सासहितको निसान छाप पारितपश्चात कुटनैतिक पहल तीब्र बनाउन सरकारसँग माग गरेको छ ।


ADVERTISEMENT


शनिबार एक विज्ञप्ती जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव आज पारित भएपछि भूमी फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश गर्ने बताएका छन् । उनले नक्सा पारित भएसँगै अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक फिर्ता ल्याउन भारतसँगको कुटनीतिक वार्ताका लागि पहल थाल्न आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, ‘राष्ट्रियताको प्रश्नमा यो राष्ट्रिय एक्यवद्धता महत्वपूर्ण छ । नक्सा पारित पछि ती भू—भागमा नेपालको निर्वाध हक स्थापित गर्न उच्च स्तरीय कुटनैतिक पहलका लागि नेपाली कांग्रेस सरकारलाई आग्रह गर्दछ ।’

युवाको माग सम्बोधन गर

यस्तै कांग्रेसले देशका विभिन्न ठाउँमा केहि दिन यता भइरहेका प्रदर्शनको भावनालाई सम्बोधन गर्न पनि सरकारसँग आग्रह गरेको छ । प्रदर्शनलाई कांग्रेसले सरकारको असफलताप्रतिको जनअसन्तुष्टि र जनआक्रोशका रूपमा लिएको बताउँदै उनले प्रदर्शनकारी युवाको भावनालाई सम्बोधन गर्न समेत आग्रह गरेका छन् ।

सरकारको आग्रह स्वीकारेर जनताले लक डाउनको पालना गर्दै आएपनि सरकारले कोरोनाविरुद्धको संघर्षलाई सबल ढंगले नेतृत्व गर्न नसकेर परिस्थिति जटिल बन्दै गएपछि नागरिकमा निराशा, प्रश्न र आक्रोश जन्मनु स्वभाविक रहेको कांग्रेसको ठहर छ ।

यस्तै कांग्रेसले प्रदर्शनमा अभिव्यक्त जनभावनालाई सम्बोधन गर्न माग गर्दै उनीहरुमाथि कुनै पनि ढंगले बल प्रयोग नगर्न सरकारलाई सचेत गराएको छ ।