काठमाडौँ – भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवाद वार्ताका माध्यमबाटै समाधान गरिने बताएका छन् । भारतीय जनता पार्टीका उत्तराखण्डका कार्यकर्तालाई ‘जन संवाद’ कार्यक्रमअन्तर्गत सम्बोधन गर्दै रक्षामन्त्री सिंहले कालापानी क्षेत्रको विषयलाई लिएर केही समस्या पैदा भएपनि त्यसलाई वार्ताबाटै टुंग्याइने उल्लेख गरेका हुन् ।


ADVERTISEMENT


चीनको मानसरोवर जोड्ने ८० किलोमिटर सडक भारतीय क्षेत्रमा बनेको दाबी गर्दै उनले यसलाई लिएर नेपालमा केही गलत बुझाई भएको जिकिर गरे । उनले लिपुलेकमा बनाइएको सडकका कारण नेपाली जनतामा गलत बुझाई भए भए वार्ताका माध्यमबाटै समाधान निकाल्ने बताए । उनले भारतले नेपाललाई लिएर कुनै पनि कटुता पैदा हुनै नसक्ने दाबी गरे । उनले भने, ‘हामी बसेरै यी समस्याको समाधान गर्नेछौँ ।’


ADVERTISEMENT

# # #


रक्षामन्त्री सिंहले नेपाल भारतबीचको रोटीबेटीको सम्बन्धलाई कुनैपनि शक्तिले तोड्न नसक्ने ठोकुवा गरे । उनले भने, ‘भारत र नेपालको सम्बन्ध सामान्य सम्बन्ध होइन । यो रोटीबेटीको सम्बन्ध हो ।’ उनले भने, ‘दुनियाँको कुनै पनि शक्तिले यो सम्बन्धलाई तोड्न सक्दैन ।’

नेपालसँग भारतको सामाजिक, भौगोलिक र ऐतिहासिक एवम् सांस्कृतिक सम्बन्ध मात्रै नभई आध्यात्मिक सम्बन्ध पनि रहेको बताउँदै उनले यस वास्तविकतालाई भारतले कहिल्यै भुल्न नसक्ने बताए । उजले भने, ‘बाबा पशुपतिनाथलाई हामी कसरी भुल्न सक्छौँ ? यो सम्बन्ध यस लोकको मात्रै होइन, दोस्रो लोकसँग पनि जोडिएको छ । जसलाई चाहेर पनि कसैलाई बदल्न सक्दैन ।’

गोरखा रेजिमेन्ट सेनाले समय समयमा आफ्नो शौर्यको परिचय दिने गरेको भन्दै उनले धारचुलामा जतिसुकै धार लगाए पनि यसले नेपालसँगको सम्बन्धलाई काट्न नसक्ने उनले बताए ।