पर्सा– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २ नं प्रदेशको आसन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रलाई एक नम्बर पार्टी बनाउने सचिवालय बैठकले निर्णय गरेको बताएका छन् ।


ADVERTISEMENT


उनले २ नं प्रदेशको निर्वाचनमा परिवर्तनकारी र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर जो सुकै पार्टीसँग चुनावी तालमेल गर्ने निर्णय गरेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रेस सेन्टर पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिवालय बैठकको निर्णयलाई सार्वजनिक गर्दै अध्यक्ष दाहालले २ नं प्रदेशको आसन्न स्थानीय तह निर्वाचनमा राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिक पार्टीसँग चुनावी तालमेल गर्न विशेष ग्राह्यता दिने निर्णय गरिएको बताए ।

पूर्वप्रधानमन्त्री दाहालले पार्टी एकीकरणपछि वीरगन्जमा भएको पहिलो सचिवालय बैठकले पार्टी एकीकरण, पार्टी प्रवेश र ध्रुवीकरणले निर्माण भएको ताजा परिस्थितिलाई पार्टीभित्र माथिदेखि तलसम्म समायोजन गर्न संरचना निर्माण गरिएको र एक हप्ताभित्र माथिदेखि तलसम्म समायोजन टुंगोमा पुर्याउने निर्णय गरेको जानकारी दिए ।

उनले बैठकले मंसिर १० र २२ गते हुने प्रदेशसभा र केन्द्रको निर्वाचनमा परिवर्तकारी, संघीयता पक्षधर शक्तिको बहुमत भए मधेसी जनताको अधिकार र पहिचानलाई स्थापिन गर्न संशोधन प्रस्तावलाई पारित गर्न पहल गर्ने, सरकाको कामको समीक्षा गर्दै बैठकले सकरकारको काम कारबाहीलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने, संसदमा दर्ता रहेको प्रतिनिधि सभा र र प्रदेशसभा सदस्यको विधेकालाई चाँडोभन्दा चाँडो पारित गरी निर्वाचनको वातावरण निर्माण मद्दत पुर्याउनुपर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले तराईमा आएको भीषण बाढीबाट प्रभावित आम जनतालाई राहत दिन संकट क्षेत्र घोषणा गरी प्रभावितको राहतका लागि विषेश प्याकेज ल्याउन सरकारलाई सुझाव दिने निर्णय बैठकले गरेको जानकारी दिए ।

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले हाल निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई बुझाएको प्रतिवेदनप्रति पार्टीको असन्तुष्टि रहेकाले निर्वाचन क्षेत्रलाई पुनरावलोकन गर्न प्रधानमन्त्रीसँग छलफल गर्ने प्रष्ट पारे । माओवादी केन्द्रको पहिलो सचिवालय बैठक वीरगन्जमै गर्नुको मुख्य उद्देश्य २ नं प्रदेशको निर्वाचनलाई सफल बनाउनु रहेको उनको भनाइ थियो ।

आज मध्याह्न १२ देखि साँझ ५ः३० बजेसम्म होटल भिष्वामा बसेको माओवादीको सचिवालय बैठकलाई स्थानीय निर्वाचनको दृष्टिले महत्वपूर्ण रुपमा हेरिएको छ । बैठकमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, पार्टी प्रवक्ता पम्फा भुसाल, नेताहरु जनार्दन शर्मा, प्रभू साह, रामबहादुर थापालगायतका नेताको उपस्थिति थियो ।