काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काठमाडौं उपत्यका खुलातर्फ केन्द्रीय सदस्य पदका लागि घनश्याम गिरीले उम्मेदवारी दिएका छन्।
लामो समयदेखि राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय गिरीले पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्। उनले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालको लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने मूल भावसहित आफ्नो उम्मेदवारी अघि सारेका हुन्।
स्थानीय तहदेखि नै जनतासँग प्रत्यक्ष रूपमा जोडिँदै आएका गिरीले जनताका समस्या, स्थानीय आवश्यकता तथा विकास निर्माणका विषयलाई प्राथमिकतामा राख्दै काम गर्दै आएको दाबी गरेका छन्। समर्थकहरूले गिरीको सरल व्यवहार, जनतासँगको सहज सम्बन्ध तथा सामाजिक क्षेत्रमा सक्रिय भूमिकालाई उनको उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनलाई नयाँ ऊर्जा, सोच र सुदृढ संगठन निर्माण गर्ने अवसरका रूपमा लिइरहेका बेला गिरीको उम्मेदवारी पनि चर्चामा आएको छ।
गिरीले पार्टी संगठनलाई थप बलियो बनाउँदै जनताका आवाजलाई केन्द्रीय नेतृत्वसम्म प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै जनताको विश्वासलाई संगठनको शक्तिसँग जोडेर कांग्रेसलाई थप सबल बनाउन आफू अघि बढेको उनको भनाइ छ।
















