ललितपुर – प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले समाजमा हुने जुनसुकै अपराधजन्य प्रवृत्ति र कर्मलाई उच्च मनोबल र दृढ इच्छा शक्तिकासाथ समाजबाट उन्मूलन गर्न नेपाल प्रहरी दृढ रहेको बताएका छन् ।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित प्रहरी ब्यारेक भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उदघाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले आम नागरिकको साथ, सहयोग र सहकार्यमा जुनसुकै अपराध कर्मको संजाल छिन्न–भिन्न पार्दै अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी दृढ रहेको बताएका हुन् । प्रहरी संगठन आम नागरिकको आशा र भरोसाको केन्द्रको रुपमा रहेकोको उल्लेख गर्दै उनले यस पवित्र मन्दिरमा बसेर छद्‍म भेषमा कोही कसैलाई अपवित्र काम, आवरण र व्यवहार गर्न छुट नरहने र त्यस्ता गलत तत्वहरुलाई संगठनबाट निर्मूल पार्न दृढ रहेको बताए ।


ADVERTISEMENT

# # #


मुलुकको शान्ति सुरक्षा र समुन्नतिमा अवरोध गर्ने जुनसुकै तत्व, शक्ति वा समूहको गतिविधिहरुलाई निर्ममतापूर्वक कारवाही गरी निस्तेज गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिए । कुनै आवरणमा रही हुने गरेका गुण्डागर्दी, मानव बेचबिखन तथा ओसारपसार, प्राकृतिक श्रोत साधनको दोहन, पर्यावरणीय विनाश र अवैध तस्करी जस्ता अपराधिक कर्मविरुद्ध सशक्त रुपमा कारवाही अगाडि बढाउनुपर्ने उनले बताए ।

महानिरीक्षक ज्ञवालीले नागरिकको सुरक्षा र सेवा प्रवाहको लागि नवनिर्मित भवनले कार्यरत प्रहरी कर्मचारीहरुमा थप हौसला प्राप्त भएको उल्लेख गरे । ऐतिहासिक र पुरातात्विक महत्व रहेको ललितपुर जिल्लाका कला कौशल, संस्कृति र परम्पराको विशिष्ट स्थान रहेको चर्चा गर्दै उनले यस विशिष्ट क्षेत्रको मौलिकता र महत्वलाई सदा जीवन्त राख्न भरपर्दो शान्ति सुरक्षाको ठूलो महत्व रहेको उल्लेख गरे ।

उनले कोरोना भाइरस (कोभिड–१९) ले सिर्जना गरेको विषम परिस्थितिमा नेपाल प्रहरीले अग्रपंक्तिमा खटिएर विचलित नभई निर्वाह गरेको भूमिकाको चर्चा गरे ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुभकामना मन्तव्य व्यक्त गर्दै महानगर क्षेत्रमा देखिएका चुनौती तथा समस्याहरु समाधानको लागि महानगरपालिकाले प्रहरीसँग सदैव समन्वय र हातेमालो गर्दै आगाडि बढेको बताए । नयाँ भवन हस्तान्तरण भएसँगै आगामी दिनमा त्यसको उचित मर्मत सम्भारमा समेत आवश्यक ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेक प्रसाद राईले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

भवन उदघाटन पश्चात महानिरीक्षक ज्ञवालीले भवन निर्माणमा विशेष योगदान पुर्‍याउने ७ जनालाई प्रशंसापत्र वितरण गर्नुका साथै नवनिर्मित भवन तथा कार्यालय परिसरको निरीक्षण समेत गरेका थिए ।