गोपालप्रसाद बराल, महोत्तरी – मुखमा आएको बालीनाली बाँदरले सखाप पारेर विरक्तिएका महोत्तरीका किसानबीच अहिले ‘बाँदर भगाउने यन्त्र’ लोकप्रिय बनेको छ । नेपाली वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ‘बाँदर भगाउने यन्त्र’ जिल्लाको उत्तरी क्षेत्रमा लोकप्रिय बनेको हो ।


ADVERTISEMENT


जिल्लाको बर्दिवास नगरपालिका–३ पाटुका किसान कृष्ण घिमिरेले आँप बगैँचा र मकैबारीमा यो यन्त्र पड्काएर बाँदर धपाउन थालेपछि यसबारे किसानको चासो बढेको हो । “यन्त्र चलाउन सजिलो छ, पड्काएपछि बाँदर भागेका छन्” आफूले ल्याएको यन्त्रबारे आज स्थानीय जनप्रतिनिधि, स्थानीय प्रहरी/प्रशासनका प्रतिनिधि र सञ्चारकर्मीबीच घिमिरेले जानकारी दिँदै भने, “एक पटक पड्काएपछि बगैँचा र मकैबारीमा बाँदर देखिएका छैनन् ।” सामान्य प्लाष्टिकको पाइप जोडेर बनाइएको यस यन्त्रमा थोरै कार्बाइड पानीमा घोलेर लाइटर बालेपछि पड्कने ठूलो आवाजले बाँदर भागेका घिमिरेको भनाइ छ ।


ADVERTISEMENT

# # #


झट्ट परबाट हेर्दा यो यन्त्र बन्दूकजस्तै देखिन्छ । बन्दूकजस्तो देखिने र ठूलो आवाजले पड्कने हुँदा बाँदर भगाउन यो यन्त्र प्रभावकारी भएको पाटुका किसानले बताएका छन् । सम्बन्धित स्थानीय तहको वडा समितिको सिफारिसमा केन्द्रले उपलब्ध गराउने यो यन्त्रमा थोरै कार्बाइड किन्न मात्र खर्च लाग्ने गर्छ । पहिलोपटक रु १०० मा ल्याएको कार्बाइड ५० पटकसम्म पड्काउन पुग्ने गरेको घिमिरेले बताए । अहिले पाटुका किसान घिमिरेलाई आ–आफ्नो खेत बगैँचामा यन्त्र पड्काइ दिन अनुरोध गर्न लागेका छन् ।

आवाजकै भरमा बाँदर भगाउने यो यन्त्रले मार्ने वा चोटपटक केही नलाग्ने बुझेपछि थुप्रै किसान सिफारिस माग्न थालेका बर्दिबास–३ वडा समितिको कार्यालयले जनाएको छ । “यन्त्रका लागि अब सिफारिस माग्ने किसान निकै बढेका छन् ।” बर्दिवास–३ का वडाध्यक्ष राजन ढुङ्गानाले भने, “ज्यान जोखिम नभएको यो यन्त्रले बाँदर आतङ्क नियन्त्रणमा निकै सघाउ पुर्याएको छ ।”

चुरे पहाड शृङ्खला वरिपरीका आफ्ना वडा बस्तीमा बाँदरले बालीनाली सखाप पारेर दुःख दिन थालेपछि यो यन्त्र माग्ने जतिलाई सिफारिस दिइने उहाँको भनाइ छ । बर्दिवास–३ का पर्साहीधाप, रजवास, कालापानी, पाटु, राईमण्डल, गौरीडाँडा र भब्सीसहित बस्तीमा बाँदरले आँप र मकैबाली निकै नोक्सान गर्दै आएको छ । बाँदर आतङ्कले आजित किसानले केन्द्रको यो यन्त्र अत्यन्त प्रभावकारी भएको बताएका छन् । बर्दिवास–३ को सुदुर उत्तरको पर्साहीधापदेखि सुदुर दक्षिणको गौरीडाँडासम्मको करिब २० किलोमिटर दूरीभित्र यस वडाका १० भन्दा बढी टोलबस्ती छन् ।

“बाँदर आतङ्कले मुखको बाली भन्न पाइएको छैन” बर्दिबास–३ राईमण्डलका ऐनबहादुर थापा मगरले भने, “अब भने यन्त्र पड्काउँदा बाँदर भागेका हुँदा बाली जोगिने आश बढेको छ ।” वैज्ञानिक पुनले तयार गरेका यो यन्त्रले बाँदर भागेपछि जिल्लाका अन्य बस्तीमा पनि यसबारे चासो बढेको छ । यसैबीच केन्द्रले बाँदर धपाउने कामबाहेक अन्य काममा यो यन्त्र प्रयोग नगर्न सचेत गराएका छन् ।

बाँदरका कारण दिनरात खेत बारीमा बिताउनु पर्ने किसानलाई यो यन्त्रले राहत पुगेको छ । “यसअघि सधैँ बाँदर गोठालो बसेको म अहिले भने यही बन्दुक पड्काउन थाले पनि बाँदर आउन निकै कम भएको छ”, घिमिरेले भने, “ यसको प्रयोगपछि किसानलाई दुःख दिने गरेको बाँदर आतङ्क कम भएको हुँदा यो किसानका लागि रामवाण नै बनेको छ ।”

वन्यजन्तु मार्न नपाइने, छोप्न पनि नपाइने, लखेट्दा टाढा नजाने र फर्की–फर्की आउने गरेका बाँदर अब यसको प्रयोगबाट भाग्न थालेपछि यस भेगका किसान खुशी भएका छन् ।

फाइल फोटो