कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा–४ मा रहेको कालिका माध्यमिक विद्यालयलका निजी स्रोतमा कार्यरत शिक्षकले एक वर्षदेखि बिनातलब अध्यापन कार्य गर्दै आएका छन् ।


ADVERTISEMENT


विद्यालयसँग आर्थिक अभाव हुँदा शिक्षकले तलब पाउन नसकेका हुन् । तलब नपाउनेमा आधारभूत तहका दुई, माध्यमिक तहका एक र एक जना परिचरलेसमेत तलब पाउन नसकेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर चन्दले बताए ।


ADVERTISEMENT

# # #


“निजी स्रोतका शिक्षकलाई मात्रै तलबवापत रु १० लाख तिर्न बाँकी छ”– उनले भने, “स्रोत कुनै छैन, कहाँबाट जुटाउने समस्यामा परेका छौँ ।” निजी स्रोतका शिक्षकलाई अवकाश दिइए दरबन्दी नहुँदा विद्यालयमा शिक्षकको अभावमा कक्षा नै प्रभावित हुने भएको उनले बताए ।

निजी स्रोतका शिक्षकलाई तलब दिन मात्रै वार्षिकरुपमा रु १५ लाख आवश्यक पर्छ उनले भने, “आर्थिक सहयोग संकलन गरे पनि रु पाँच लाख जति मात्रै उठ्ने अनुमान छ ।” सहयोग रकमसमेत उठ्ने/नउठने अन्योल छ । आधारभूत तहका शिक्षकले गत वर्षको मंसिरदेखि र माध्यमिक तहका शिक्षकले गत वर्षको साउनदेखि तलब नपाएको गुनासो गरेका छन् ।

विद्यालयमा आधारभूत तहमा छ जना र एक जना माध्यमिक तहमा गरी सात जना शिक्षक राहत दरबन्दीमा कार्यरत छन् । विद्यालयमा एक जना शिक्षकमात्रै स्थायी दरबन्दीमा कार्यरत रहेका छन् ।

भवन निर्माणकोसमेत रु तीन लाख तिर्न बाँकी रहेको प्रअ चन्दले बताए । यसअघि विद्यालय परिसरमा रहेका रुख बेचेर निजी स्रोतमा कार्यरत शिक्षकको तलब व्यहोरिएको थियो । रासस