भक्तपुर– एघार वर्षपछि यस वर्ष सञ्चालनमा आउन लागेको जिब्रो छेड्ने जात्राको सम्पूर्ण तयारी पूरा भएको छ । इन्द्रजात्राको भोलिपल्ट मध्यपुरथिमिमा जिब्रो छेडेर मनाइने येँया पुन्हिया मेय् प्वाः खनेगु जात्रा यस वर्ष भने सञ्चालनमा आउने भएको हो ।


ADVERTISEMENT


आर्थिक तथा विभिन्न कारणले लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीय युवाले यसलाई जोगाउन जात्रा सञ्चालन गर्ने भएका हुन् । यस वर्ष आउँदो २१ गते बुधबार मध्यपुरथिमि नगरपालिका–५ का २९ वर्षका वीरेन्द्रभक्त गजुश्रेष्ठले जिब्रो छेडेर यो जात्रालाई लोप हुनबाट जोगाउने भएका छन्।


ADVERTISEMENT

# # #


जात्रालाई व्यवस्थित एवं मर्यादित ढंगबाट सञ्चालन गर्न येँया पुन्हिया मेय् प्वाः खनेगु जात्रा व्यवस्थापन समिति गठन गरेर मध्यपुरथिमि नगरवासी तथा विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा जात्रा सञ्चालन गर्ने भएको हो ।

समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले पौराणिक कथनअनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दा भूतप्रेत, ख्याकजस्ता राक्षसबाट पीडित भएपछि थिमिका जनतालाई दुःखबाट छुटकारा दिलाउन थिमिका आराध्यदेवी बालकुमारीको साधन गरेपछि भाद्र शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षस यस ठाउँमा यस्ता साहसिक व्यक्तिको रहेको भन्दै भागेको जनश्रुति रहेको बताए ।

प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाको दिन बेलुका करिब ८ बजे थिमिकै दिगुु टोलस्थित दिगुभैरब मन्दिर अगाडिको डबलीमा जिब्रो छेडाउने चलन छ । अध्यक्ष श्रेष्ठले जिब्रो छेड्ने जात्राको लागि करिब एक महिना अगाडिदेखि नै गरेको तयारी पूरा भएको बताए ।

जिब्रो छेड्ने नातु (सुइरो) बनाउनका लागि करिब एक महिना अगाडि नातु बनाउने नकर्मीलाई खबर गर्न जाने परम्परा रहेको छ । नातु बनाउन खबर गर्न जाँदा रातो भाले, सम्येबजिसहित नकर्मीको घरमा जाने र नकर्मीले नातु बनाइसकेपछि तीन हप्ताजति शुद्ध तोरीको तेलमा नातुलाई डुबाएर राख्नुपर्ने प्रचलन रहेको उनले बताए । जात्राका लागि त्रिशुलजस्तै तीनतिर भएको नातु अर्थात् सुइरो बनाइएको छ ।

जिब्रो छेड्न आठ दिनलाई द्यः दुसालेगु भन्ने गरिन्छ र त्यसदिन बालकुमारी मन्दिरमा एघार वटा किसली (माटोको प्यालामा चामल, सुपारी र सिक्का राखेको भाग) तथा रातो भालेको बलि दिएर बालकुमारीको साधना गर्नुपर्ने प्रचलन छ ।

जिब्रो छेड्ने जात्राको चार दिन अगाडि थिमिको लाय्कूका पःमाहरुले हनुमानढोका दरबारमा गएर राज खड्ग लिएर डबलीमा राख्ने र इन्द्र जात्राको दिन बालकुमारीमा छ्वय्ला ब्वः, रातो भालेको बलिसहितको पूजा गरी भोज खुवाउने चलन रहेको छ ।

त्यसैको भोलिपल्ट येँया पुन्हीको दिन दुता नं (जामा) लगाएर बालकुमारीमा पूजा गर्ने परम्परा रहेको छ । त्यसदिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ । जिब्रो छेड्ने दिनमै बेलुकापख (साँझ) बालकुमारीदेखि दिगुभैरवसम्मको स्थानमा बत्ती दिने काम हुन्छ ।

त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ । यो पूजापछि जिब्रो छेड्ने व्यक्तिमा दैवीशक्ति प्राप्त हुने जनविश्वास रहेको छ ।

त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरव सामुन्ने मुख फर्काई उल्टो हिँडाई डबलीमा पुर्याइन्छ । सयौँ जनमानसलाई देखाएर नकर्मीले बनाएको १० इन्च लामो सुइरोबाट कमी नायोले जिब्रो छेडाउने गरिन्छ । त्यसपछि म्यं (महादीप) बोक्न लगाई उसको इच्छाअनुसार नगरपरिक्रमा गराउने गरिन्छ ।

यसरी जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै सँगसँगै नगरपरिक्रमा गरिन्छ । जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पहिला चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमाका लागि लाने गरिएकामा अहिले भने थिमिको विभिन्न भाग मात्र परिक्रमा गराइने भएको छ ।

त्यसपछि भने बालकुमारी मन्दिरमा पुगेर कमी नायोले सुइरो निकाल्ने गरिन्छ । सुइरो निकालिसकेपछि जिब्रोमा भएको खालमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो राखेर सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ । त्यसपछि सगुन लिएर भोज खुवाउने र भोलिपल्ट बिहान बालकुमारीमा नातु पूजा भनी द्यःलित तवनेगु अर्थात् विसर्जन पूूजा गरेपछि जात्रा सम्पन्न हुन्छ ।

यसअघि २०५३, २०५९ र २०६३ सालमा गरी तीन पटक जिब्रो छेडेका कृष्ण नानिचा श्रेष्ठ, अहिले छेड्ने व्यक्ति वीरेन्द्रभक्त गजु श्रेष्ठ र समितिका सदस्य राजेश सुवा श्रेष्ठ नगरको लोपोन्मुख संस्कृति, जात्रालाई संरक्षण गर्न सम्बन्धित निकायले आवश्यक चासो देखाउनु पर्नेमा एकमत देखिन्छन् ।

प्रत्येक वर्षको वैशाख २ गते बोडेमा मनाउने जिब्रो छेड्ने जात्रा भने हरेक वर्ष सञ्चालन भइरहेको छ । रासस