– यादवकुमार भट्टराई


ADVERTISEMENT


नेपाली मानव सभ्यताको सबैभन्दा कलंकित कुप्रथा सती प्रथा कानुनीरुपमा उन्मुलन भएको असार २५ गते सय वर्ष पुगेको छ । १९७७ साल असार २५ गते तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेरले महिलामाथि हुने अत्यन्तै अमानवीय हिंसा सतिप्रथालाई सँधैंको लागि समाप्त गर्ने गरी कानुन जारी गरेका थिए । त्यही कानुनले सती प्रथाबाट महिलाहरुलाई व्यवहारिक रुपमा सँधैँको लागि मुक्ति दिलाएको यस ऐतिहासिक दिनको सन्दर्भमा हामीले बनाएको चलचित्र झोला निर्माणको सन्दर्भका मेरो मनमा आएका कुराहरु स्मरण गरेकोछु ।


ADVERTISEMENT

# # #


२०५८ सालमा कृष्ण धरावासीको कथा झोला पढेको थिएँ । मैंले यो कथा पढ्न थालेपछि आफैलाई बिर्सन पुगेछु । कथा पढुन्जेल समय कति बित्यो थाहा नै भएन । कथाभित्र यति डुबिएछ कि कति खेर कति पटक रोए थाहै भएन । कथा पढिरहँदा प्रत्यक्ष आफ्नै आँखाअघि त्यो घटिरहेको भन्ने अनुभूत भईरह्यो । आँखामा आशु निरन्तर बहिरहे, मैले पुछिनँ । धेरै पटक भक्कानिएँ । निरीह भएर आमामाथि भएका ती अमानवीय दृश्यहरुलाई हेरिरहेँ, केही गर्न सकिँन । यही अनुभूत भइरह्यो ।

कथा पढिसकेपछि पनि एउटी अवोध नारी, जसलाई माया गर्ने श्रीमानको निधनपछि ज्यूदै निर्ममतापुर्वक श्रीमानको चितामा जलाइएका दृष्यहरु मेरा मष्तिस्कमा घुमिरहे । मेरै आमाले त्यो पीडा भोग्नुभएको जस्तो लाग्यो । आँखामा निरन्तर आँशु बहिरहे । टाउको फुट्ला जस्तो भयो । अरु मनमा कुनै कुरा नै आएन । तिनै दृश्यले कोतरी रह्यो । खाना खान मन लागेन । निन्द्रा लागेन ।

कस्तो कठोर समाज त्यसबेलाको, कसरी एक अवोध महिलामाथि ज्यूँदै आगो लगाउन सकेको होला ? श्रीमान् मरेर कमजोर भएकी महिलालाई सहानुभुति दर्शाउनु पर्नेमा जलाउन कसरी तयार भएका होलान् ? के ती समाजमा रहेका कसैको पनि मुटु थिएन ? कसैले पनि विरोध र विद्रोह गर्न सकेन, आफ्नै आमा दिदी बैनीलाई कसरी ज्यूदै जलाए ? जलाई सकेपछि पनि कसरी त्यो हेर्न र सहन सके ? जलाउँदा शरिर पोलेपछि सहन नसकेर भाग्दै गरेकी नारीमा माथि ढुंगामुढा गरेर बेहोस बनाई कसरी आगो हाल्न सके होलान् ? यस्ता प्रश्नहरुले मेरो टाउकोमा घन हानि रहे ।

म आफै पनि त्यो अपराधको साक्षी बसेको अुनुभूत भयो । असाध्यै छटपटी भयो । रातभरि त्यही कुरा मनमा खेलिरह्यो । निदाउँदा पनि सती चिच्याई रहेको अनुभूत भयो ।त्यस समयमा हाम्री हजुरआमाका आमा, हजुरआमा र जीजुहजुर आमाहरुले भोग्नु परेको अमानवीय हिंसाले अनुभूति मेरो शरिरको प्रत्येक कोषमा घोचिरह्यो । कसै गर्दा पनि मेरो मन मतिस्कमा ती क्रुर दृश्यहरु हटेनन् ।

पुर्वजन्ममा मेरै आमामाथि त्यो अमानवीय व्यवहार भएको थियो जस्तो मेरो शरिरले बोध गरिरह्यो । म मेरो आमालाई जलाएको दृश्य विवश भएर हेरिरहेको थिए । जीउ जलिरहँदा आमाले चिच्याएको आवाजमा ठूलो–ठूलो स्वरमा बजिरहेका पञ्चेबाजाले पनि छेक्न सकेको थिएन । आमाको शरिरमा लागेको आगोले मलाई पोलिरहेको छ । कथाको त्यो दृश्य मनमा आउने बित्तिकै मेरा आँखा रसाई हाल्थे । कथाको दृश्य सम्झिने बित्तिकै मन भक्कानिन्थ्यो । त्यो घटना आफ्नै आँखा अगाडि घट्दा पनि कसरी सहन सके होलान् त्यसबेलाका पुरुषहरुले आफैलाई जन्मदिने आमामाथिको ज्यादती ? त्यो कठोर घटना मन आउने बित्तिकै त्यसबेलाको समाजसँग विद्रोह गर्न अहिले नै जाँउ जस्तो लाग्छ । तर त्यसबेलाका मानिसहरुले किन विद्रोह गरेनन् मनमा प्रश्न उठिरह्यो ।

त्यो कठोर र अमानवीय कुसंस्कारका कारण जबरजस्ती जीवन त्याग्न बाध्य भएका आमाहरुको आत्मा अहिले पनि छट्पटाईरहेको अनुभूत हुन थाल्यो । त्यसपछि भने मलाई झन् बढि पीडा हुन थाल्यो । आफ्नै वरिपरि अवोध आत्माले आफैले जन्माएको सन्तानबाट ज्यूँदै पोलिदाको छटपटी अहिले पनि व्यक्त गरिरहे जस्तो लाग्यो । यस्तो अनुभुत भएपछि मलाई उकुस मुकुस हुन थाल्यो । मैँले त केहि गर्नैपर्छ भन्ने लाग्यो । तर, के गर्न सक्छु ? फेरि आफैलाई प्रश्न गरे ।

आजभन्दा सय वर्षभन्दा अगाडिको यस अमानवीय घटनाले मन पिरोलि रह्यो । अब मैँले ती आमाहरुको आत्माको लागि के गर्न सक्छु भन्ने लागिरह्यो । सोच्दै जाँदा मनमा यस कथा माथि चलचित्र बनाउँछु भन्ने विचार आयो । यो विचार आउनसाथ मभित्र चलिरहेको आँधिहुरी अचानक शान्त भएजस्तो महसुस भयो । त्यसपछि यस विषयमा जसरी पनि चलचित्र बनाउनु पर्छ भन्ने मनमा दृढ संकल्प गरे । त्यसपछि भने साँच्चिकै मन शान्त भयो ।

व्यवसायिक चलचित्र, नाम, हिरो–हिरोइन, नाचगान, प्रेम रोमान्स, संघर्षका कथामा शूत्रवद्ध चलचित्र निर्माण भइरहेको समय एउटा ऐतिहासिक र मौलिक कथामा चलचित्र निर्माण गर्न आफै अर्को एउटा संघर्ष जस्तो भयो । त्यो चुनौतिलाई स्वीकार गर्दै हामीले सती गएका आमाहरुको आत्माको पुकार सुनेर चलचित्र ‘झोला’ निर्माण गर्‍यौँ ।

असाध्यै मेहनत गरेर आफ्नो क्षमताको इमान्दार रुपमा अधिकतम् प्रयोग गरेर चलचित्र ‘झोला’को निर्माण गर्‍यौँ । हाम्रो महेनतको फल मीठो भयो । आजको समाजले सय वर्षको आमाहरु पीडालाई असाध्यै गम्भीर रुपमा लिनुभयो । मैँले कथा पढ्दा गरेको बोधलाई चलचित्रको ‘झोला’ हेर्नुहुने दर्शकहरुले पनि त्यही रुपमा बोध गर्नुभयो । वास्तवमा हामी सबैको पुर्खाहरुले त्यही पीडाबाट गुज्रनु परेकोले होला, सबैले चलचित्रलाई स्वीकार्नु भयो । त्यसपछि भने मनले आनन्द अनुभुत गर्यो ।

सति प्रथा उन्मुलन भएको सय वर्ष पुगेको यस ऐतिहासिक अवसरमा तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेरप्रति हार्दिक सम्मान व्यक्त चाहन्छु । राजनैतिक रुपमा उनी जतिसुकै आलोचित भएपनि सतिप्रथा र दासप्रथालाई कानुन बनाएर व्यवहारिक रुपमा निर्मुल गर्ने उनको यो कदमको उच्चसम्मान गर्नुपर्छ । चन्द्रशम्शेरले आफ्नो ५७ जन्म दिवसको अवसर पारेर ८ जुलाई १९२० (२५ आषाढ १९७७ वि.सं.) मा चन्द्रशमशेरले औपचारिक घोषणा गरेर सती प्रथा बन्द गरिदिए । ‘यदि कसैले कुनै महिलालाई सती जान अनुमति दियो वा सती जान मद्दत पुर्‍यायो वा जलाउने काम गर्‍यो भने त्यस्ता व्यक्तिहरुलाई हत्या गरेसरह मृत्यु दण्ड दिइने’ कानुन चन्द्र शमशेरले बनाए । उनको सती प्रथामाथिको बन्देज सम्बन्धी नियम लागू भएपछि नेपालमा शताब्दीयौंदेखि चलि आएको यो अमानवीय प्रथा सधैंको निम्ति अन्त्य भयो ।

हाम्रो देशमा कानुनी रुपमा चन्द्रशमशेरले सती प्रथाको (८ जुलाई १९२०) मा अन्त्य गरेको पाइन्छ । वास्तवमा सती प्रथामा श्रीमानको चित्तामा स्वास्नी मान्छे मात्र जल्ने चलन अन्त्य भएको हो । तर, विधवा महिलालाई विभिन्न किसिमको यातना (मानसिक ं शारीरिक) दिने काम बन्द भएको छैन । अझै पनि नेपालको धेरै ठाउँमा विधवा महिलालाई बोक्सी भन्ने र विधवासँग भेट भएमा साइत पर्दैन भन्ने जस्ता अमानवीय कुरालाई विश्वास गरी विधवा महिलालाई मानसिक यातना दिएको पाइन्छ । के यो सती प्रथाको नौलो वा अर्को रुप होइन र ? दाईजोको कारण अहिले पनि हाम्रा छोरीचेलीहरुले जिउँदै जलिरहनु परेको छ । रजस्वला भएकै कारण अहिले पनि महिलाहरुले छिछि र दुर्रदर्र मात्र हैन ज्यानै जाने गरी व्यवहार गरिरहेका छौँ ।

बालिकाहरुमाथि हुने बलात्कार र हत्याका घटनाहरुले पूरै समाजलाई लज्जित बनाई रहेका छन् । विज्ञान, सुचना प्रविधिको विकाससँगै मानवीय चेतनाको सबैभन्दा अब्बल अवस्था भएको राजनैतिक रुपमा संघीयतासहित गणतन्त्रमा रहेका, गाउँ गाँउमा सिहंदरबार पुगेको यस स्वर्ण युगमा पनि महिला माथि हुने अमानवीय हिंसा अवस्था हेर्दा भने म पुरुष हुँ भन्न पनि लाज लाग्ने अवस्था किन आईरहेको छ ? जबकी महिला हिंसाको सन्दर्भमा कानुन अत्यन्तै कठोर छ । दण्ड र सजायको व्यवस्थामा पनि कडा छन् । तर व्यवहारिक रुपमा भने महिला माथि हुने सबै किसिमका हिंसा बढ्दो मात्रामा हुनुले सबै किसिमका सरकारको नेतृत्वलाई चुनौति थपिरहेको छ ।

आफ्नै आमा दिदीबहिनी, भाउजु, बुहारीमाथि हुने यस्ता किसिमका हिंसालाई व्यवहारिक रुपमा हामी सबै मिलेर सधैँको लागि समाप्त पार्नुपर्छ । नारी आमा हुन्, त्यैसले महिलामाथि हुने हिंसा आमामाथिको हिंसा हो । जन्मदिने, कर्म दिने माया दिने आमामाथि हिंसा गरेर कसरी हामी सुखी सम्पन्न हुन सक्छौ ? एकपटक आफैलाई प्रश्न गरौ । उत्तर के पाउनु भयो त ? आमालाई दुःखी बनाएर कुन सन्तान खुशी हुन सक्छ ? अहिले मेरो मन त्यस्तै भारी छ, झोला कथा पढ्दा जस्तै ।

व्यवहारिक रुपमा सती प्रथा उन्मुलन भएको सय वर्ष त पुग्यो । तर, अझै पनि हाम्रो समाजमा यसका परिमार्जित रुपहरु विद्यमान छन् । सबै किसिमका महिला हिंसाहरुलाई व्यावहारिक रुपमा निर्मूल गर्न हामी सबै प्रण गरौँ । नयाँ चन्द्र शमशेरको प्रतीक्षा नगरौँ ।

मातृदेवो भवः ।

(लेखक सफल चलचित्र  ‘झोला ‘का निर्देशक हुन् )